तनहुँ । मंसिर १५
म्याग्दे गाउँपालिका र पोखराको हिमालय आँखा अस्पताल विच म्याग्दे गाउँपालिकामा नियमित रुपमा आँखा उपचार सेवा सन्चालनको सहमती भएको छ । सोमबार हिमालय आँखा अस्पताल पोखरामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल डाइरेक्टर बविता गुरुङ विच आँखा उपचार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।



सम्झौता अनुसार आगामी पौष ३ गतेबाट म्याग्दे गाउँपालिका–४ स्थित थर्पु आधारभुत अस्पतालमा नियमित रुपमा हिमालय आँखा अस्पतालको प्राविधिकद्वारा दैनिक रुपमा आँखा परिक्षण सेवा हुनेछ । त्यसकोलागि प्राविधिक र उपकरण हिमालय आँखा अस्पतालले र उपचार केन्द्र र सहयोगी म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता अनुसार आँखा परिक्षण सेवाको लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक एक मुष्ठ ६ लाख रुपैयाँ उपलब्ध गराउने छ भने विरामीहरुबाट संकलित रकम गाउँपालिकाको आम्दानी हुनेछ ।
आँखा उपचार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रुपमा सन्चालन गर्नकोलागि आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त सहयोग समितिको संयोजकमा थर्पु आधारभुत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सह–संयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् । त्यस्तै सदस्यहरुमा म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष, वडा नम्बर ७ का अध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् ।
गाउँपालिकाबासीलाई नियमित रुपमा आँखा उपचार सेवा उपलब्ध गराउन हिमालय आँखा अस्पतालसँग सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले अबदेखी आँखाका सामान्य बिरामीहरु उपचारकोलागि पोखरा धाउनु नपर्ने बताए ।
सम्झौता कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरे तथा हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम निर्देशक प्रा.डा.इन्द्रमान महर्जन लगायतको उपस्थिती रहेको थियो ।












