तनहुँ । बैशाख २७
गण्डकी प्रदेश खेलकुँद परिषद पोखराको आर्थिक सहयोग तथा तनहुँ जिल्ला खेलकुँद विकास समितिको आयोजनामा आइतबार सम्पन्न गण्डकी प्रदेश स्तरीय महिला/पुरुष भलिवल प्रतियोगितामा पुरुष तर्फ तनहुँ र महिला तर्फ म्याग्दी जिल्ला प्रथम भएको छ ।



दमौली खेल मैदानमा आयोजित प्रतियोगितामा तनहुँले पर्वत जिल्लालाई ३–१ को सेटमा बिजयी भएको थियो । प्रतियोगितामा हजारौंको संख्याका घरेलु दर्शकलाई तनहुँ जिल्लाले निराश पारेन । खेलमा पर्वत उपबिजेता भयो । यसअघि सेमीफाईनलमा तनहुँले नवलपरासीलाई र पर्वतले गोर्खालाई पराजित गरि फाईनल पुगको थिए । तेश्रो स्थानकोलागि गोर्खा र नवलपरासी विच भएको खेलमा नवलपरासी विजयी भएको थियो ।

यस्तै महिला तर्फ भएको प्रतियोगितामा म्याग्दी प्रथम भएको छ । म्याग्दी र कास्की जिल्ला विच भएको फाईनलमा म्याग्दीले ३–० को सोझो सेटमा कास्कीलाई पराजित गरेको थियो । यसअघि सेमी फाईनलमा तनहुँलाई हराएर कास्की र पर्वतलाई हराएर म्याग्दी फाईनलमा पुगेका थिए ।
प्रतियोगिताका बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुँद परिषदका सदस्य सचिव श्रीधर शर्मा, भलिवल संघ गण्डकीका अध्यक्ष भिम पराजुली तथा जिल्ला खेलकुँद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

गण्डकी प्रदेको भलिवल टिमको लागि उत्कृष्ट खेलाडी छनौट गर्ने उद्देश्यले शुक्रबारदेखी सो प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।

प्रतियोगिताको समापन कार्यक्रमको सन्चालन समितिका सचिव विश्व बुढा परियारले स्वागत मन्तव्य उपाध्यक्ष इनकन खनालले गरेकी थिइन् । प्रतियोगितामा महिला र पुरुष तर्फ गण्डकी प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहेको थियो ।












