तनहुँ । बैशाख ३०
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बसको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको प्र.३–०१–००१ प १६०९ नम्बरको पर्यटक मिनि बसले पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको हो ।



बसको ठक्करबाट स्थानीय ७० वर्षीय बिर्खबहादुर चुमीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए । उनका अनुसार मंगलबार साँझ करिब ७ः४० बजेको समयमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका चुमीको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाएको थियो ।
प्रहरीले बस चालक गोरखाको पालुङटार नगरपालिका–१ बस्ने ३८ वर्षीय मनोज पोखरेललाई नियन्त्रणमा लिएको छ । ठक्कर दिने बसलाई भने प्रहरी चौकी डुम्रेको नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।











