इन्जिनियर श्रीराम न्यौपाने
नेपालको पूर्वाधार विकासको इतिहासमा महत्वपूर्ण अध्यायका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनामा प्रत्यक्ष रूपमा जोडिन पाउनु मेरो व्यावसायिक जीवनकै गौरवपूर्ण अवसर मध्ये एक हो ।



यस ऐतिहाँसिक आयोजनामा सबकन्ट्र्याक्टरतर्फ आयोजना निर्देशकको जिम्मेवारी सम्हाल्दै, जापानी निर्माण व्यवसायी हाज्मा एण्डो कर्पोरेसन सँग Back to Back Basis मा सुरुङ भित्रको सम्पूर्ण सिभिल निर्माण कार्य सम्पन्न गर्ने जिम्मेवारी प्राप्त भयो। करिब २६८० मिटर लम्बाइका दुईवटा मुख्य सुरुङ सहित कुल ५७०० मिटरभन्दा बढी सुरुङ निर्माण कार्य सम्पन्न गर्ने क्रममा हामीले अत्यन्तै चुनौतीपूर्ण अवस्था सामना गर्दै सफलता हासिल गर्यौै ।

तीन वर्षको निर्माण अवधिमा करिब ३०० जना नेपाली जनशक्तिले निरन्तर रोजगारीको अवसर प्राप्त गरे भने हालसम्म १००० भन्दा बढी नेपाली जनशक्तिले आधुनिक सुरुङ निर्माण प्रविधिको ज्ञान, सीप र दक्षता हासिल गर्ने अवसर पाएँ । यो केवल एउटा आयोजना निर्माण मात्र नभई नेपालमा सुरुङ प्रविधिको जनशक्ति विकास गर्ने महत्वपूर्ण आधार पनि बन्यो भन्ने विश्वास लिएको छु ।
विश्वव्यापी कोभिड–१९ महामारीको कठिन समयमा समेत एक दिन काम नरोकी कामलाई निरन्तरता दिँदै, वार्षिक ३२६ दिन, चौबीसै घण्टा बहुसिफ्ट प्रणालीमा काम गरिएको थियो । आयोजना निर्देशकको भूमिकामा रहँदा कतिपय दिन दैनिक १८ घण्टासम्म सुरुङ भित्रै रहेर प्राविधिक, व्यवस्थापकीय र सुरक्षा चुनौतीहरू समाधान गर्दै काम गरेको अनुभव आज पनि अविस्मरणीय छ । जनशक्ति, निर्माण सामाग्री, मेसिन उपकरणको व्यवस्थापनदेखि मर्मत सम्भार सुपरिवेक्षण, अनुगमनसम्मका सबै जिम्मेवारी मेरो काँधमा थियो। जसलाई मैले निकै खटेर निर्वाह गरेको थिएँ ।
यस जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने क्रममा तत्कालीन नेपाल सरकारद्वारा प्रबल जनसेवाश्री (चतुर्थ) सम्मान प्राप्त गर्ने अवसरले मेरो जिम्मेवारी प्रतिको समर्पणलाई थप हौसला प्रदान ग¥यो । तर हरेक ठूला उपलब्धिको पछाडि कठिन संघर्ष, जोखिम र चुनौतीहरू पनि हुन्छन् ।

यस आयोजनाको क्रममाः
–एक जना अमूल्य कामदार साथीलाई गुमाउनुपर्यो,
–करिब एक दर्जन जनशक्तिले हात, खुट्टा, टाउको र ढाडमा गम्भीर चोटपटक व्यहोर्नुप¥यो,
–दुई दर्जन भन्दा बढीले औँला, आँखा लगायतमा सामान्य चोटपटकको सामना गर्नुप¥यो ।
सुरुङ निर्माण आफैंमा अत्यन्त जटिल र जोखिमपूर्ण कार्य हो । निर्माण अवधिमा सुरुङ भित्र विभिन्न स्थानमा करिब १५ पटकसम्म Collapse (भासिने/धसिने अवस्था) आए, जसलाई प्राविधिक दक्षता, धैर्यता र टोलीगत प्रयासबाट व्यवस्थापन गरियो । तीमध्ये एउटा घटनामा युरोपबाट आयात गरिएको अत्यन्त महँगो 10HRB Haggloader उपकरण पुरिएर क्षति पुगेको घटना पनि हामीले सामना गर्यौं ।
यस आयोजनाको यात्रामा स्थानीय निर्माण व्यवसायीहरू स्वच्छन्द निर्माण सेवा (सुरुङ बाहिरको काम) र मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा.लि. (सुरुङ भित्रको सिभिल कार्य) ले जापानी निर्माण कम्पनी हाज्मा एण्डो कर्पोरेसन बाट लिन बाँकी भुक्तानीको विषय अझै हाज्मा एण्डो कर्पोरेसनको हेड अफिस, जापानको निर्णयको प्रतीक्षामा रहेको छ । साथै, सुरुङ भित्रको एक वर्षे Defect Liabliity Period (सन् २०२७ मे सम्म) का लागि आवश्यक Performance Guarantee को जिम्मेवारी मेगाटेकसँग रहेको छ ।

नागढुंगा सुरुङमार्ग मेरो लागि केवल एउटा आयोजना होइन । यो हजारौँ घण्टाको मेहनत, जोखिम, पसिना, सिकाइ, नेपाली प्राविधिक जनशक्तिको क्षमता र समर्पणको कथा हो। देश बनाउने एउटा कला राम्रोसंग सिकाएको आयोजना हो, नागढुंगा सुरुङमार्ग ।
यस यात्रामा साथ दिने सम्पूर्ण नेपाली कामदार, इन्जिनियर, प्राविधिक, व्यवस्थापन टोली तथा सहयोगी सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
नेपालमा सुरुङ निर्माणको नयाँ युगको सुरुवातमा आफ्नो सानो योगदान दिन पाएकोमा गर्व महसुस गर्दछु ।
न्यौपाने हाल तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य छन् ।












