तनहुँ । असोज २०
कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण सम्पन्न भए पनि तनहुँतर्फ काम सुरु हुन नसक्दा यातायात सञ्चालन अझै प्रभावित बनेको छ । १० दिनअघि बाढीले पूर्वी नवलपरासी र तनहुँको सीमानामा रहेको कालीगण्डकी पुलको दुवैतर्फका ‘एप्रोच रोड’ बगाएको थियो ।



पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकातर्फको भत्किएको सडक खण्ड भने स्थानीयको श्रमदान र पालिकाको प्रयासमा तयार भइसकेको छ । बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाका अनुसार पालिकाको जेसीबी प्रयोग गरी दुई दिनसम्म सयौं स्थानीयको श्रमदानबाट साढे दुई दिनमै नवलपुरतर्फको सडक खुलाइएको हो ।
‘हाम्रोतर्फको काम त तदारुकताका साथ सक्यौं, तर तनहुँतर्फ भत्किएको भागमा काम सुरु गर्ने सुरसारसमेत नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ’ अध्यक्ष ओझाले भने, ‘चाडबाड नजिकिँदै गर्दा ओहोरदोहोरमा ठूलो समस्या भएको छ ।’
सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठले तनहुँतर्फको भाग निर्माणका लागि बजेट माग गर्दै सडक विभागमा पत्राचार गरिएको बताएका छन् । रकम स्वीकृत भई आएपछि मात्रै मर्मत कार्य अघि बढाउने तयारी रहेकाले काममा ढिलाइ भएको उनको भनाइ छ ।
करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्छ । पोखरा, गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक सयौं यात्रु तथा सवारी साधन अलपत्र पर्दै आएका छन् ।












