साधनाका प्रतिमुर्ति रामचन्द्र ढकाल

Devghat Online

शेयर गरौ


  वाचन सम्राट पं.भीमकान्त भागवत

मानिससँगको सम्बन्ध सधैँ व्यक्तिगत भेटघाट र औपचारिक चिनजानमा मात्र सीमित हुँदैन । कतिपय सम्बन्ध विचारले जोडिन्छन्, कतिपय समान उद्देश्यले र कतिपय आध्यात्मिक रुचि तथा साधनाले। रामचन्द्र ढकाल ‘साधक’ सँग मेरो सम्बन्ध पनि यस्तै प्रकृतिको छ । उहाँ मेरा अनन्य मित्र र वैचारिक सहयात्री हुनुहुन्छ। उहाँसँगको मेरो भेटघाट व्यक्तिगत सुखदुःखका कुरामा भन्दा धर्म, दर्शन, साधना, संस्कार र समाजका विषयमा बढी केन्द्रित हुने गर्छ । हामीबीचको आत्मीयता पनि यही साझा रुचि, विचार र कर्मबाट विकसित भएको हो ।

वि.सं.२०३५ साल मङ्सिरमा गोरखा जिल्लाको तत्कालीन बोर्लाङ्ग–९, हाल भीमसेन थापा गाउँपालिकामा जन्मिनुभएका रामचन्द्र ढकालको बाल्यकाल ग्रामीण परिवेशमा बित्यो । उहाँले प्रारम्भिक शिक्षा रवीन्द्र ज्योति विद्यालयबाट सुरु गरी सरस्वती माध्यमिक विद्यालय र सहिद स्मृति क्याम्पसबाट उच्च माध्यमिक तहको अध्ययन पूरा गर्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएका उहाँ वि.सं. २०५९ सालदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । शिक्षण जीवनको सुरुवात रवीन्द्र ज्योति प्राथमिक विद्यालय, बोर्लाङ्गबाट गर्नुभएका उहाँले स्थानीय तथा राष्ट्रिय स्तरमा उत्कृष्ट शिक्षकका रूपमा सम्मानसमेत प्राप्त गर्नुभएको छ । हाल उहाँ न्यू सगरमाथा ई–सेकेन्डरी स्कुलमा अध्यापनरत हुनुहुन्छ ।

उहाँको विचारमा शिक्षण केवल जीविकोपार्जनको माध्यम होइन। विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान दिनुका साथै नैतिकता, असल आचरण र जीवनप्रतिको जिम्मेवारी सिकाउनु पनि शिक्षकको दायित्व हो भन्ने उहाँको बुझाइ छ । यही सोचका कारण विद्यालय तहका विद्यार्थीका लागि शैक्षिक सामग्री लेखनमा समेत उहाँले योगदान दिनुभएको छ । कक्षा ६, ७ र ८ का स्वास्थ्य शिक्षा तथा कक्षा ९ र १० का जनसङ्ख्या शिक्षासम्बन्धी पुस्तक एवं अध्ययन सामग्री उहाँका शैक्षिक लेखनका उदाहरण हुन् । विद्यालयको कक्षाकोठामा अध्यापन गराउँदै उहाँले धर्म, दर्शन, संस्कृति र समाजका विविध पक्षको अध्ययनलाई पनि निरन्तरता दिनुभएको छ ।

धर्म र दर्शन उहाँको अध्ययनका प्रमुख विषय हुन् । विशेषगरी वैदिक तथा सनातन परम्परा, बौद्ध दर्शन र विभिन्न धर्मका ग्रन्थहरूको तुलनात्मक अध्ययनमा उहाँको रुचि छ । वेद, कुरान, बाइबल तथा श्रीरामका भक्त कबिरका विचार र मान्यताहरूको अध्ययन गर्दै उहाँले धर्मका विविध पक्षलाई बुझ्ने प्रयास गर्नुभएको छ । उहाँका प्रकाशित कृतिहरूमा-

१) ‘वेद, कुरान र बाइबलको नजरमा कबिर’,

२)‘परमेश्वरको अदालतमा वेद, कुरान र बाइबल’,

३)‘चक्ब्र्यूहमा कुलपूजा र मष्ट संस्कृति’,

४)‘नित्यपूजा विधि’,

५)‘श्राद्धपद्धति’,

६)‘बृहत् कर्मकाण्ड’ तथा

७) ‘तन्त्रसंसार’ उल्लेखनीय छन् ।

धार्मिक तथा आध्यात्मिक विषयमा दर्जनौँ पुस्तक लेखिसक्नुभएका उहाँ अध्ययनबाट प्राप्त ज्ञानलाई लेखनमार्फत समाजसम्म पु¥याउन सक्रिय हुनुहुन्छ ।

ढकालको जीवनमा पारिवारिक संस्कार र वंशपरम्पराको पनि विशेष स्थान छ । पारिवारिक वंशावली तथा मान्यताअनुसार उहाँ ज्योतिर्विद् कुलानन्द ढकालका एघारौँ पुस्ताका सन्तति हुनुहुन्छ । कुलानन्द ढकाल पृथ्वीनारायण शाहका सल्लाहकार तथा राजगुरु रहेको पारिवारिक परम्परामा उल्लेख छ । उहाँको परिवारमा पुस्तौँदेखि पण्डितीय तथा ज्योतिषीय परम्परा रहँदै आएको छ । यही पृष्ठभूमिले उहाँलाई आफ्नो कुल, मूल, गोत्र, कुलदेवता र पुर्खाले चलाउँदै आएका संस्कारप्रति नजिक बनाएको छ । कुलपूजा र कुलदेवताको आराधनालाई उहाँ केवल धार्मिक कर्मकाण्डका रूपमा मात्र नभई पारिवारिक इतिहास र सांस्कृतिक पहिचानका रूपमा पनि लिनुहुन्छ ।

धार्मिक ग्रन्थको अध्ययनसँगै व्यक्तिगत साधना उहाँको जीवनको अर्को महत्त्वपूर्ण पक्ष हो। उहाँले विगत पाँच वर्ष देखि नुन र चिनी त्यागेर आफ्नै साधना अनुकूल आहारविहार अपनाउँदै शिवसाधना गर्दैआउनुभएको छ। उहाँले साधना बाहिरी प्रदर्शनको विषय होइन; आफ्नो आचरणलाई अनुशासित बनाउने, आत्मचिन्तन गर्ने र जीवनलाई संयमित राख्ने अभ्यास हो भन्नुहुन्छ।

साधना, पूजापद्धति, धार्मिक अनुष्ठान, मन्त्र, पूजा, जप र आध्यात्मिक अभ्यासबारे हामीबीच छलफल हुने गर्छ । कतिपय विषयमा अध्ययनका अनुभव साटासाट हुन्छन् भने कतिपय विषयमा आ–आफ्ना बुझाइ र अभ्यासबारे विमर्श हुन्छ । हाम्रो भेटको मुख्य विषय प्रायः धर्म र अध्यात्म नै हुने गर्छ । उहाँमा हिन्दूत्व रक्षाको प्रबल चेतना मुखरित देख्छु।धार्मिक हुनु र धर्मरक्षाको चेतनाबाट युक्त हुनु फरक कुरा हुन् । यसैले उहाँ मेरा लागि मित्रको साथै वैचारिक सहयात्री पनि हुनुहुन्छ ।

अर्को महत्त्वपूर्ण पक्ष उहाँ जातीय छुवाछूतमुक्त समाज निर्माणको पक्षपाती हुनुहुन्छ । साथै स्वधर्ममा स्वेच्छिक पुनरागमनका विषयको पनि पक्षधर हुनुहुन्छ । कहिलेकाहीँ यी विषयको उद्देश्य, रणनीति र कार्यदिशाबारे विचार विमर्श पनि हुन्छ । धर्मसंस्कार, स्थानीय परम्परा, कुलपूजा, मौलिक संस्कार र सांस्कृतिक पहिचानको संरक्षणको विषयमा पनि उहाँमा चासो र चिन्ता प्रबल छ । यही विषयमा उहाँको अनुसन्धान पनि प्रशंसनीय छ।यस विषयमा पनि हामी लामो छलफल गर्छौँ कहिलेकाहीँ।

समाजमा जातीय छुवाछूत र विभेदको अन्त्यको साथै आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै सबै मानिसको मानवीय मर्यादा सुरक्षित रहनुपर्छ भन्ने उहाँको सोच युगानुकुल छ । पछिल्ला पाँच वर्षमा अनेक कारणले सनातन धर्मबाट विचलित समाजलाई पसनः सनातनको महत्त्व बुझाउन र फेरि सनातनमा नै फर्काउन उहाँको विशेष भूमिका देखिएको छ । फर्कने प्रक्रियामा सहयोग पुगेको छ । यो सबैको लागि अनुकरणीय काम हो ।

ढकालको सक्रियता अध्ययन र अभियानमा मात्र सीमित छैन । नेपाल तथा विदेशका विभिन्न तीर्थस्थलमा पुगेर दर्शन, पूजा र धार्मिक अनुष्ठान गर्नुभएका उहाँले १०८ भन्दा बढि हवन तथा विभिन्न धार्मिक कर्मकाण्ड सम्पन्न गर्नुभएको कुरा उहाँकै मुखबाट सुन्न पाएर हृदय गद्गद भएको छ । उहाँले धार्मिक गतिविधिलाई व्यक्तिगत आस्थासँगै परम्पराको निरन्तरता, आध्यात्मिक चेतना र विश्वशान्तिको कामनासँग जोडेर हेर्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई पुस्तक तथा लत्ताकपडा वितरण गर्न सहयोग गर्नुका साथै सामाजिक विभेदविरुद्ध जनचेतना फैलाउने कार्यमा पनि उहाँको संलग्नता रहँदै आएको छ ।

आफ्नो कुल, मूल, गोत्र र परम्पराप्रतिको उहाँको लगाव देख्दा पुर्खाबाट प्राप्त संस्कारलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्छ भन्ने उहाँको चाहना स्पष्ट हुन्छ । राष्ट्रिय तथा मौलिक पोसाक, कुलदेवताको आराधना र स्थानीय धार्मिक परम्पराको संरक्षणलाई उहाँ सांस्कृतिक पहिचानसँग जोडेर हेर्नुहुन्छ । हामीबीच यस विषयमा पनि पटकपटक छलफल भएको छ । स्थानीय परम्परा र संस्कारलाई केवल पुरानो चलन भनेर छाड्नु हुँदैन, तिनको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बुझेर अभिलेखीकरण र संरक्षण गर्नुपर्छ भन्ने उहाँको धारणा अति मननीय छ ।

उहाँसँगको संवादमा मैले अनुभव गरेको अर्को पक्ष उहाँको अध्ययनशील स्वभाव हो । कुनै विषयमा धारणा बनाउनुअघि त्यसको इतिहास, दर्शन, धार्मिक ग्रन्थ र व्यवहार बुझ्नुपर्छ भन्ने उहाँको मान्यता छ। विभिन्न धर्मका ग्रन्थ पढ्ने, तिनका विचार र मान्यताबारे प्रश्न गर्ने र आफ्ना निष्कर्ष लेखेर प्रस्तुत गर्ने उहाँको बानी छ। उहाँका सबै विचारसँग सबैको सहमति नहुन सक्छ, तर आफ्नो मान्यता अध्ययन र तर्कका आधारमा प्रस्तुत गर्न खोज्ने उहाँको प्रयासलाई महत्त्व दिनुपर्छ ।

रामचन्द्र ढकाल ‘साधक’ लाई मैले नजिकबाट चिन्दै आएको छु । उहाँमा शिक्षकको जिम्मेवारी छ, लेखकको जिज्ञासा छ, परम्पराप्रतिको अनुराग छ र साधकको अनुशासन छ । उहाँसँग नजिक हुने व्यक्तिले गुरुका रूपमा ज्ञान र अनुभवका कुरा सुन्न पाउँछ, मित्रका रूपमा आत्मीय संवाद गर्न पाउँछ त कहिले सहकर्मीका रूपमा साझा अभियानको योजनामा पनि सहभागी हुन पाउँछ ।

उहाँलाई कुनै असाधारण वा त्रुटिरहित व्यक्तिका रूपमा प्रस्तुत गर्नु मेरो उद्देश्य होइन । उहाँ पनि आफ्ना विचार, रुचि, अभ्यास र सीमासहितको एक सामान्य मानिस हुनुहुन्छ । उहाँको आफ्नो छुट्टै निजि जीवन छ । तर आफ्नो समयको ठूलो हिस्सा शिक्षण, अध्ययन, लेखन, धर्मसंस्कार र सामाजिक अभियानमा लगाउँदै आउनुभएको कुरा उल्लेखनीय छ । पद र प्रतिष्ठाको पछि लाग्नुभन्दा आफूले विश्वास गरेको क्षेत्रमा निरन्तर काम गरिरहनु उहाँको जीवनको एउटा विशेष पक्ष हो ।

आजको समयमा आफ्नो संस्कृति र परम्पराबारे बोल्नेहरू धेरै छन्, तर त्यसको अध्ययन, लेखन र संरक्षणमा समय दिनेहरू कम छन् । रामचन्द्र ढकालको प्रयास यही दिशामा केन्द्रित देखिन्छ । शिक्षणलाई पेसा, अध्ययनलाई रुचि, साधनालाई व्यक्तिगत अनुशासन र सांस्कृतिक संरक्षणलाई सामाजिक जिम्मेवारीका रूपमा अघि बढाइरहनुभएका उहाँको जीवनयात्रा आफ्नै लयमा अगाडि बढिरहेको छ ।

मेरो दृष्टिमा रामचन्द्र ढकाल ‘साधक’ को परिचय कुनै एउटा पद वा उपाधिमा सीमित छैन । उहाँ मौलिकता रक्षाको चेतनाले पूर्ण असल साधक व्यक्ति हुनुहुन्छ । मानिससँगको सम्बन्धलाई विचार, सद्भाव र साझा कर्मले पनि गहिरो बनाउन सकिन्छ भन्ने कुराको एउटा उदाहरण हाम्रो मित्रता हो । मित्रताको कडी केवल सनातन रक्षाको चिन्तन र चेतना हो । ज्ञानको खोजीमा निरन्तर लागिरहने, आफ्नो परम्परालाई बुझ्ने र आफूले जानेको कुरा समाजसँग बाँड्ने उहाँको प्रयास नै रामचन्द्र ढकाल ‘साधक’ को वास्तविक जीवनपरिचय हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल