देवघाट अनलाइन
दमौली, चैत २३
तनहुँ क्षेत्र नम्बर १ को निर्वाचन परिणाम गठबन्धनको पक्षमा पार्न सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीको संयोजकत्वमा वाम लोकतान्त्रिक गठबन्धन हाइकमान्ड गठन गरेको छ ।



विहिबार नेपाली काँग्रेसको जिल्ला कार्यालयमा बसेको सत्तारुढ गठबन्धनका जिल्ला स्तरीय नेताहरुको बैठकले गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई बिजयी गराउन नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शंकर भण्डारीको नेतृत्वमा हाईकमाण्ड गठन गर्ने निर्णय गरेको गठबन्धनका एक सदस्यले बताए ।
उक्त हाइकमान्डको सदस्यहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु प्रदीप पौडेल र धु्रव वाग्ले नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्यहरु सुरेश आले मगर, हरिबहादुर चुमान र आशा कोइराला, नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु कृष्णकुमार श्रेष्ठ किसान, कलिला खान, नेता विद्या ढकाल र शंकर पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शिवलाल थापा, केन्द्रीय सदस्यहरु शर्मिला थापा आचार्य, पासाङ थापा र अर्जुन लम्साल रहेका छन् ।
त्यसैगरि गठबन्धनको बैठकले नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको संयोजकत्वमा जिल्ला स्तरीय अनुगमन तथा सहजीकरण समिति समेत गठन गरेको छ । सो समितिको सदस्यहरुमा गठबन्धन दलको प्रतिनिधि सदस्यहरु रहेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्यामकुमार मौरतीको संयोजकत्वमा निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ । सो समितिमा गठबन्धनका दलका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
त्यस्तै पालिकास्तरमा नेपाली कांग्रेसका सभापतिहरुको संयोजकत्वमा पालिका स्तरीय परिचालन समिति गठन गरिएको छ । सो समितिमा समेत गठबन्धन दलका प्रतिनिधिहरुको सहभागिता रहको छ ।
नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न सो बैठकमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मदन आले, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्की, जनता समाजवादीका जिल्ला अध्यक्ष अर्जुन गुरुङ सहभागी थिए ।












