‘सहायक श्रीमान’ले जापानमा जित्यो एक करोड ३० लाख राशीको पुरस्कार

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख १८

बहुपतिप्रथाबारेको डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैंया राशीको पुरस्कार जितेको छ । गणेश पाण्डे निर्देशित फिल्मले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा एक लाख अमेरिकी डलर बराबरको रकम जितेको हो ।

मेहोदो महोत्सवमा १२२ देशका ३ हजार ५३३ वटा फिल्म प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो । १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई निर्देशक पाण्डेले भर्चुअल सम्बोधन गरेका थिए ।

‘यो अवार्डलाई मैले करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैंमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो,’ उनले भने । निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्किन मलाई मद्दत मिल्नेछ,’ उनले भने ।

यसैबीच, यो फिल्मले क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि पुरस्कार प्राप्त गरेको छ । पाण्डे निर्देशित अघिल्लो डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ यसअघि विश्वव्यापी चर्चित भएको थियो, जसले भूकम्पमा बाँच्न सफल पात्रको कथा भन्छ । फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा समेत एक हजार डलरको पुरस्कार जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । नेपालका केही हिमाली जिल्लामा प्रचलित घरमा जति दाजुभाइ छन्, सबैले एउटै श्रीमती बिहे गर्ने अनौठो चलनका विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले चार वर्षको छायांकन र अनुसन्धानबाट को–हजबेण्ड निर्माण गरेका हुन् ।

फिल्मकी निर्मात्री शारदा गैरे हुन् । प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् । यसैगरी ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका छन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रिय सभामा सरकारले ल्याएको बजेटका प्रावधान संशोधन हुने भएपछि बैठक नै स्थगित, चार दलको आपत्ती

काठमाडौं, असार २७ सरकारको तर्फबाट राष्ट्रिय सभाको विहिबारको बैठक स्थगित गरिएको छ । ठूलो रकम