दाताको भरमा चल्छन् देवघाटका गुरुकुल

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २६

देवघाटमा सन्चालित गुरुकुल तथा आश्रमहरु दाताको भरमा सन्चालन हुँदै आएका छन् । देवघाटमा बटुककालागि चार वटा गुरुकुलहरु सन्चालनमा रहेका छन् । राष्ट्रियता तथा विश्वबन्धुत्वको भावना विकास गर्नका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञान विज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले ति गुरुकुलहरु सञ्चालित छन् ।

ति गुरुकुलहरुले बटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिँदै आएका छन् । ति सबै गुरुकुल तथा आश्रमहरु दाताको सहयोग र मुठ्ठी दानको भरमा छन् । बटुककालागि महेश संन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन् ।

देवघाटमा सन्चालित गुरुकुलमा करिब सात सय बटुक अध्ययनरत रहेका छन् । प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म बटुक अध्ययनरत छन् । महेश संस्कृत गुरुकुलमा शास्त्री र आचार्य (स्नातक र स्नातकोत्तर) पढाई भईरहेको महेश संस्कृत गुरुकुलका प्रधानाचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै परमानन्द संस्कृत गुरुकुलमा शास्त्रीसम्म अध्यापन भइरहेकामा आचार्यसम्मको पठनपाठन सुरुआत गर्ने तयारी भइरहेको छ भने वेद वेदाङ्गमा यसअघि कक्षा १० सम्म अध्ययन हुने गरेकामा अहिले शास्त्रीसम्मको अध्यापन सुरु गरिएको छ ।

ति सबै गुरुकुलमा राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएको पौडेलले बताए । शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको छ । सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवाससहित बटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ । ति सबै गुरुकुल दानदाताको भरमा सञ्चालित छन् ।

गुरुकुलको नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी खर्चको व्यवस्थापन गरिएको छ । नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, बटुकलाई खान र शिक्षाका लागि खर्च छुट्याइन्छ भने भौतिक तर्फ पुर्वाधार निर्माणमा खर्च हुने गरेको छ । गुरुकुल सन्चालनको लागि महेश सन्यास आश्रम र गलेश्वर आश्रमले यस अघि २०७५ र २०७६ मा बृहत ज्ञान महायज्ञ आयोजना गरेका थिए । उक्त दुबै महायज्ञको तत्कालिन राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन । उक्त महायज्ञबाट संकलित रकम गुरुकुल सन्चालन र भौतिक पुर्वाधार निर्माणमा खर्च गरिएको थियो ।

त्यसबाहेक दाताहरुलाई आग्रह गरि बटुकको एक वर्षकोलागि सबै खर्च व्यवस्थापन गर्ने गरि पनि सन्चालन गरिएको छ । केहीले अन्नदान पनि सहयोग गर्ने गरेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले बताए । विभिन्न स्थानमा गएर गुरुकुलको प्रचार–प्रसार गरी अन्नदाता र शैक्षिक दाता सङ्कलन गर्ने अभियान सञ्चालन हुँदै आएको छ । शैक्षिक दातासँग वार्षिक रूपमा प्रति बटुकलाई लाग्ने १२ हजार रुपैयाँ वार्षिक तिथि तथा जन्मदिनको अवसर लगायतमा सहयोग गर्न आग्रह गर्ने गरिएको उनले बताए ।

वेद वेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले पनि दानदाताको भरमा गुरुकुल सञ्चालन भइरहेको बताए । देवघाटधाममा आउने भक्तजनले पनि विभिन्न सहयोग गर्दै आएका छन् । दाताको भरमा भएपनि अहिलेसम्म गुरुकुल राम्रोसँग नै सन्चालन भईरहेको उनले बताए ।

त्यसबाहेक विभिन्न तहका सरकारले पनि गुरुकुल सन्चालनको लागि निश्चित रकम अनुदान तथा शिक्षकको दरबन्दी समेत उपलब्ध गराएका छन् । गुरुकुललाई मूलधारको शिक्षामा जोड्न नेपाल सरकारको पाठ्यक्रमलाई पनि समावेश गरिएको छ । त्यसो गर्दा सरकारबाट शिक्षकको दरबन्दी र अनुदानको लागि सहयोग प्राप्त भएको गुरुकुलका सन्चालकहरुले बताएका छन् ।

महेश संस्कृत गुरुकुलमा भारतको काशी, बनारस लगायत विभिन्न ठाउँबाट पनि बटुकहरु अध्ययन गर्न आउने प्रधानाचार्य पौडेलले बताए । देवघाटधाममा सञ्चालित गुरुकुल पवित्र स्थलमा रहेकाले पनि यहाँको गुरुकुलमा भारतबाट बटुक संस्कृत शिक्षा लिन आउने गरेको उनको भनाई छ । संस्कृत विषय छुट्टै नभई मूलधारकै विषय भएको तर्फ सरकारको ध्यानाकर्षण हुनु पर्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू