दमौली, जेठ ७
ऋषिङ गाउँपालिका-८ ऋषिङमा रहेको शिव सरस्वती माविका प्रधानाध्यापकको छोराको बिहेमा जानको लागि आईतवार उक्त विद्यालय बन्द गरिएको छ ।



विद्यालयका हेडसर विष्णुप्रसाद बरालको छोराको बिहेमा जन्ती जानको लागि विद्यालय व्यवस्थापन समितिको निर्णयबाट आईतवार एकदिनको लागि विद्यालयमा बिदा दिईएको एक शिक्षकले बताए । एक अभिभावकले पनि हेडसरको छोराको बिहे भएको कारण विद्यलय बिदा दिईएको बताए ।
विद्यालयका लेखापाल महेन्द्रकुमार श्रेष्ठले स्थानीय बिदाबाट कट्टा हुने गरि आज एकदिनको लागि बिदा दिईएको बताए । विद्यालय व्यवस्थापन समितिको निर्णयबाट नै बिदा दिईएको उनले बताए । विद्यालयमा बिदा दिएर सबै शिक्षकहरु बिहेमा जन्ती गएका छन् ।
ऋषिङ गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले आफुलाई पनि हेडसरको छोराको बिहेमा निम्तो आएकोले निम्तोमान्न हिडेको बताए । हेडसरको छोराको बिहेको कारण विद्यालय बिदा दिएको बारेमा आफुले पनि अभिभावकहरुबाट थाह पाएको भन्दै वडा अध्यक्ष श्रेष्ठले यसबारेमा विद्यालय प्रशासनले आफुलाई कुनै जानकारी नदिएको बताए ।
वडा अध्यक्ष पनि विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य हुने भन्दै उनले बिदा दिने बारेमा आफुसँग कुनै छलफल नभएको श्रेष्ठले बताए । वडामा फर्किएपछि यसबारेमा विद्यालय प्रशासनसँग स्पष्टीकरण लिने वडा अध्यक्ष श्रेष्ठले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले आईतवारको बिदालाई व्यवस्थापन समितिले निर्णय नगरेको बताए ।
गाउँ पालिकाले हरेक विद्यालयलाई वर्षको ५ दिन स्थानीय बिदा दिनसक्ने अधिकार दिएको र त्यस मध्ये ४ दिनको बिदा यस अघिनै व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयको बार्षिक क्यालेन्डरमा समावेश गरिसकेको र बांकी १ दिनको बिदा विद्यालय प्रशासनलाई भैपरी आउने बिदाको रुपमा प्रयोग गर्ने सुविधा दिएकोमा उक्त बिदालाई आज हेडसरको छोराको बिहेको दिन नै उपयोग गरेको हुनसक्ने अध्यक्ष श्रेष्ठले बताए ।
यसबारेमा आफुले चाडै नै व्यवस्थापन समितिको आकस्मिक बैठक राखेर जानकारी माग्ने श्रेष्ठले बताए ।












