दमौली, जेठ ७
व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिकाको १४ वटै वडा पूर्ण खोपयुक्त भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।



‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खोप समन्वय समिति व्यास नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
सो कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पूर्ण खोपले स्वस्थ्य नागरिक उत्पादनमा सहयोग पुग्ने बताए । स्वस्थ्य नागरिक समृद्धिको आधर भएकाले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने उनको धारणा थियो । साथै आधारभूत स्वास्थ्य सम्बन्धी जिम्मेवारी स्थानीय सरकारको भएकाले नागरिक सचेतना मार्फत सर्नेसँगै नसर्ने रोगबारे पनि ध्यान दिन उनले आग्रह गरे ।
कार्यक्रममा नगरप्रमुख व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पूर्ण खोप घोषणाको कार्यान्वयनमा प्रतिवद्ध रहेको बताएका थिए । नागरिकको स्वास्थ्यमा नगरपालिका गम्भिर रहेको भन्दै प्रमुख न्यौपानेले सहज र सुलभ सेवा दिन पालिका प्रतिवद्ध रहेको बताए ।
पालिकाभित्र खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडालाई पूर्ण खोपयुक्त वडा बनाउदै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उनले बताए ।

चैत महिनाभर सबै वडाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको उपस्थितिमा बालबालिकाको सर्वेक्षण गरि अघिल्लो खोप कार्यक्रममा छुटेका बालबालिका पत्ता लगाइएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिइन् । वैशाख महिनामा खोज र खोप अभियान संचालन गरि छुटेका बालबालिकालाई पुनः खोप दिएपछि पूर्ण खोप घोषणा गरिएको उनको भनाई छ ।
नगरपालिकाभर ०–५९ महिना उमेर समूहका ३ हजार ४ सय १९ जना बालबालिका रहेकोमा ३८ जना खोप लगाउनबाट छुटेका थिए । जसमा एक जना बालकले कुनै पनि खोप नलागएको र ३७ जना आंशिक रुपमा बञ्चित रहेको गुरुङले जानकारी दिइन् । उनका अनुसार छुटेका मध्ये १ र २ का ५÷५ जना, ३ र ४ को एक÷एक जना, ५ नं वडाका १० जना, ७ को ३ जना, १० र ११ का ३÷३ तथा १२ को ८ जना रहेका थिए । उनीहरु सबैले पनि खोप पाएपछी पूर्ण खोप घोषणा गरिएको हो ।
कार्यक्रममा नगरपालिकालाई जिल्ला खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले नगर प्रमुख न्यौपानेलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।












