देवघाट, जेठ ८
देवघाट गाउँपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ लामिछानेले वडा नम्बर ५ स्थित बराहा आधारभुत विद्यालयको रिक्त करार शिक्षक नियुक्ती प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।



देवघाट अनलाइनसँग सोमबार कुरा गर्दै लामिछानेले गत जेठ ६ गते शनिबारका दिन बराह आधारभूत विद्यालयमा प्राबि तह तृतीय श्रेणी राहत शिक्षक पदको शिक्षक छनौटको सम्पुर्ण जिम्मेवारी विद्यालय व्यवस्थापन समितिमा रहेको र उक्त समितिले नै निर्णय गरेर विषय विज्ञ छनौट गरि शिक्षक छनौट समिति गठन गरेको बताएका छन् ।
‘यस कार्यमा मेरो कुनै सहभागिता र संलग्नता नभएको र उक्त परिक्षाको छनौट समितिमा म नरहेको जानकारी गराउदै म प्रति लगाइएको गलत शंका, अभिव्यक्ति र आरोप प्रति म गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु’ लामिछानेले भनेका छन् ‘योग्यता र क्षमताका आधारमा स्वच्छ र निष्पक्ष ढंगले प्रतिस्पर्धात्मक रुपमा सन्चालन गर्ने परिक्षामा राजनितिक प्रभावका कारण कठिनाइ भएको जानकारी गर्दछु,।’
‘योग्यता र क्षमताका आधारमा जो कसैले पनि कुनै पनि तहको परिक्षा प्रणालीमा सहभागी हुन पाउन पर्छ र यस्ता विषयमा विवाद, शंका र आरोप लगाउने कार्य प्रति गम्भीरता पूर्वक लिएको छु’ उनले भनेका छन् ‘यस्ता परिक्षा स्वच्छ र निष्पक्ष ढङ्गबाट सञ्चालन हुनुपर्छ । साथै उक्त परिक्षाको दिन भएको अभद्र व्यवहार र अमर्यादित कार्य प्रति खेद प्रकट गर्दछु ।’












