दुलेगौंडा, जेठ २९
नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीको सचिवालयको बैठक सोमबार दुलेगौंडामा सम्पन्न भयो । कमिटीका अध्यक्ष मुक्तिनाथ तिम्सिनाको अध्यक्षतामा र नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला ईञ्चार्ज तिलकबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो बैठकले आगामी असार ५ गतेसम्म संगठित सदस्यहरुको लेबी सम्बन्धित कमिटिमा बुझाईसक्नु पर्ने निर्णय गरेको छ ।



बैठकले असार ५ गतेसम्म पार्टी सदस्यता नविकरण गरि विशेष लेवी तथा नयाँ आवेदन शुल्क नगर कमिटिमा बुझाईसक्ने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष ०८०÷८१ को बजेटका सन्दर्भमा शुक्लागण्डकी नगर पालिकामा हस्तक्षेपकारी भुमिका निर्वाह गरी बिकास, समृद्ध, सुशासन र पारदर्शितालाई केन्द्रमा राखी बैज्ञानिक ढङ्गबाट जनपक्षिय भावनाको प्रतिनिधित्व हुने योजना बनाउने निर्णय गर्दै ‘शिक्षा स्वास्थ्य रोजगार कृषि पर्यटन र पूर्वाधार नेकपा एमालेको बिचार’ को नारा नगर कमिटीले तय गरेको हुनाले सोहि अनुसार केन्द्रीत भयर काम गर्ने निर्णय गरेको कमिटिका सचिव रघुनाथ पौडेलले जानकारी दिए ।
साथै शुक्लागण्डकी नगरपालिकामा भएका चरम बेतिथी र भ्रष्टाचारजन्य अनियमितता प्रति नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाद्वार सम्पादन भएका जनघाती गतिविधिको घोर भत्र्सना गर्दै दोषी उपर कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित निकाययसँग माग गरिएको छ ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले असल आचरणयुक्त ब्यबहार, साधारण जीवन शैली, जनप्रेमी तथा बिकासप्रेमीको भुमिकामा रहि भ्रष्टाचार र अनियमितताका बिरुद्धमा आफूलाई उभ्याउने तथा शासक नभई सेवकको रूपमा सहज ढंगवाट सेवा प्रदान गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
संविधानको मर्म र भावना विपरीत लोकतन्त्रको उपहास गर्दै गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधिले गरेका जनघाती गतिविधिको बिरुद्धमा लाग्न सम्पुर्ण न्यायप्रेमी शुक्लागण्डकी नगरवासीलाई अनुरोध गर्ने निर्णय गर्दै बैठकले नगरपालिकाका पदाधिकारीले बिभिन्न समयमा एकलौटी ढङ्गवाट निर्णय गर्ने, बैठक समापन पश्चात निर्णय थप्ने, निकासी र उत्खननमा मिलेमतो गरी बिना डेण्डर कामको जिम्मा दिने, अनियन्त्रित ढङ्गवाट इन्धन तथा खाजा खानामा मनपरी खर्च गर्ने, टेण्डर प्रकृयाबाट काम सुरू भैसकेको पृथ्वी राजमार्ग नगर क्षेत्रका सफाईको नाउँमा ज्यादती गर्ने जस्ता अनेकौ कुरामा मनपरी गरिएको निश्कर्ष निकाल्दै यस्ता जनबिरोधी कामले नगरवासीको शिर निहुरिएको हुँदा नगरपालिकामा नेकपा एमालेका बहुमत सदस्यको आवाजलाई बेवास्ता र अवमूल्यन गर्ने जस्ता गतिविधि तुरून्त बन्द गर्न र गलत प्रवृत्तिलाई सच्याउन दवाव दिने निर्णय गरेको छ ।
सो बैठकमा केन्द्रीय सदस्य सविता रसाईली, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, सचिब धनञ्जय दवाडी, तनहुँ जिल्ला कमिटी सचिव तथा नगर ईञ्चार्ज राजेश्वर ढकाल, जिल्ला उपसचिव तथा स्थानीय पालिका दलका नेता खिम कुमाल लगायतका नेताहरूले पार्टी आन्दोलनमा जनप्रतिनिधिको भुमिका र कार्यभार साथै कार्यकर्ता दायित्व लगायतका विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । सो बैठक नगर सचिव रघुनाथ पौडेलले सञ्चालन र स्वागत उपाध्यक्ष इन्द्र गुरुङले गरेका थिए ।












