काठमाडौं, भदौ ७
सत्तापक्ष नेकपा एकिकृत समाजबादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले ललिता निवास जग्गा प्रकरणमा सिआईबीको अनुसन्धान केटाकेटी पाराको भएको बताएका छन् । विहिबारको संसद बैठकमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले सिआईबीको अनुसन्धान प्रति शंका लागेको बताए ।
२०४९ सालमा जम्मा ६ वर्षको उमेर भएको व्यक्तिलाई त्यसैबेला ललिता निवासको जग्गा खरिद ग¥यो भनेर करोडौं रुपैयाँ बिगो मागेर सिआईबीले सरकारी वकिललाई अनुसन्धान प्रतिबेदन बुझाईएको बताए । सिआईबीको यस्तो अनुसन्धान केटाकेटी पाराको देखिएको सांसद श्रेष्ठले बताए ।
भ्रष्टाचारको आरोपमा मुछिएकाहरुलाई पनि अनुसन्धानमा समान व्यवहार नगरेको भन्दै उनले कसैलाई काखा र कसैलाई पाखा नगरेर निश्पक्ष रुपमा अनुसन्धान गरिनुपर्ने बताए । आरोप लाग्दैमा आफुलाई मन नपर्ने व्यक्तिलाई जबरजस्ती अपराधी बनाउने काम भईरहेको उनको भनाई थियो । सांसद श्रेष्ठले हजारौं नेपालीलाई रोजगारी दिँदै आएका, सफल उद्यमी मिनबहादुर गुरुङले राज्यलाई बैधानिक ढंगले कर तिरेर जग्गा किन्दा उनी कसरी दोषी भए ? भन्ने प्रश्न गरे ।
भ्रष्टाचार र अनियमितता जस्ता विषयले अहिले गणतान्त्रिक व्यवस्थामाथी नै नागरिक र समाजमा चिन्ता र निराशा छाएको भन्दै श्रेष्ठले भने ‘युवाहरु स्वदेशमा भविष्य देखिरहेका छैनन, राजनीतिक नेतृत्व भ्रष्टाचारको मुद्धामा जोडिएको कारण यो व्यवस्था प्रति नै निराशा छाएको छ ।’ पछिल्लो समय सम्प्रादायिक द्वन्द्व निम्त्याउन गोरु काटेर खाने प्रबृत्ती बढेको भन्दै सांसद श्रेष्ठले यो कार्यले सामाजिक द्वन्द्व भुसको आगो झैं फैलिएको तर सरकारले यसको कुनै अनुसन्धान नगरेको बताए ।