देवघाट, माघ ६
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने ठिमुराको पुलमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्टन्टबाजी गरेको छ । निर्माणको अन्तिम चरणमा आईपुगेको उक्त पुलको निर्माण कार्यमा दवाव सिर्जना गर्न भन्दै रास्वपका सभापती रवि लामिछाने र उपसभापती स्वर्णिम वाग्लेले शनिबार पुलको आडैमा ध्यनाकर्षण सभा आयोजना गरेका छन् ।
भतरपुर महानगरपालिका–१ ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने उक्त पुल यहि माघ महिना भित्रैबाट सञ्चालनमा आउँदैछ । विभिन्न कठिनाइसँगै पुल निर्माणको काम यसै महिना सम्पन्न हुँदैछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले यही माघ अन्तिम साताबाट पुल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । पुल र बाटो जोड्ने स्ल्याप पुस २८ गते ढलान भईसकेको छ । पुलको दुवैतर्फको स्ल्याप ढलान गरिएकाले माघको अन्तिम साताबाट सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको पौडेलले बताए ।
त्रिशूली नदीमाथिको उक्त पुल २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । पौडेलका अनुसार निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको हो । प्राविधिक समस्याको कारण दुई पटक पुल भत्किएको थियो ।
पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रहेको छ । नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायत कारण काममा ढिलाइ भएको डिभिजन प्रमुख पौडेलले स्वीकार गरे ।
तर अहिले पुल निर्माण सम्पन्न भईसकेको छ । निर्माण सम्पन्न भई सन्चालनको अन्तिम तयारीमा रहेको पुलमा रास्वपाका नेताहरुले शक्ति प्रर्दशन गरेका छन् । चितवन क्षेत्र नम्बर २ का सांसद समेत रहेका सभापती लामिछाने र तनहुँ क्षेत्र नम्बर १ का सांसद समेत रहेका उपसभापती वाग्लेले शक्ति प्रर्दशन सहित शनिबार पुलको मुखैमा ध्यानाकर्षण सभाको आयोजना गरेका थिए ।
निर्माणको अन्तिम चरणमा आएको पुलमा ध्यानाकर्षण सभा गरिनुको कुनै औचित्य नभएको सर्वसाधरणले बताएका छन् । बुद्धसिंह मार्गमा रहेको घुमाउनेको पुल निर्माणमा भएको ढिलाईको बारेमा भाषण मात्र गर्ने लामिछाने र वाग्लेले उक्त पुल जसरी पनि बनाउने बाहेक अरु केही गर्न नसकेपछि जस लिनकोलागि ठिमुरा पुलमा सभाको आयोजना गरेको सर्वसाधरणहरुले आरोप लगाएका छन् ।