देवघाट, माघ ९
नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय समितिको आयोजना तथा चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा मंगलबार देवघाट गाउँपालिका–५ स्थित देवघाट धर्मार्थ अस्पतालमा आयोजित निशुल्क स्वास्थ्य परिक्षण शिविरमा ४९० जनाको स्वास्थ्य परिक्षण भएको छ ।




सो शिविरमा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दन्त, स्त्रीरोग, इसिजि, युएसजी, थेरापी तथा हाडजोर्नी सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण भएको थियो । स्वास्थ्य परिक्षण गर्न बिहानैबाट देवघाटबासीहरु शिविरमा आएका थिए ।

सो शिविरमा बिरामीहरुलाई निशुल्क औषधी पनि वितरण गरिएको थियो । शिविरमा चितवन मेडिकल कलेजका चिकित्सकको अलावा देवघाट गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहेको थियो । शिविरमा सबैभन्दा जनरल मेडिसिन सम्बन्धि विरामीहरुको उपस्थिती रहेको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिए ।


नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष श्रीमती कमला खनालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश विष्ट, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश ज्ञानानन्द सरस्वती, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा संघका केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।



यसैगरि संघले देवघाटका गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम एवं देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रमलाई १९० जान ब्ल्यांकेट वितरण गरेको थियो ।













