थपिएको म्याद सकिन लाग्दा सुरु भयो देवघाट आधारभुत अस्पतालको निर्माण कार्य

Devghat Online

शेयर गरौ

दमौली, माघ १४

देवघाट गाउँपालिकामा निर्माणाधिन आधारभुत अस्पतालको निर्माण कार्य थपिएको म्याद सकिन लाग्दा पुनः सुरु भएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा २०७७ मंसिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि गत २०८० असार मसान्तमै सकिएको थियो । तर उक्त अवधिमा पिल्लर उठाउने र डिपिसको काम बाहेक अन्य कुनै काम नभएपछि २०८१ असार मसान्त सम्मकोलागि म्याद थपिएको देवघाट गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले बताए ।

एक वर्षको लागि थपिएको म्याद सकिन ६ महिना मात्र बाँकी रहँदा अहिले बल्ल अस्पताल निर्माणको काम सुरु भएको छ । माघ पहिलो साताबाट निर्माण व्यवसायीले काम सुरु गरेको ढुङ्गानाले बताए । पहिलो ढलानको लागि फर्मा सेटिङ गर्दै गरेको ढुङ्गानाले जानकारी दिए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा देशभरका सबै स्थानीय तहमा कम्तीमा ५ शैयाको अस्पताल बनाउने नीति ल्याएकोमा देवघाट गाउँपालिकामा १० शैयाको अस्पताल बनाउने निर्णय भएको थियो । सो अस्पताल निर्माणकोलागि जग्गा आवश्यक पर्ने हुँदा देवघाट गाउँपालिका वडा नम्बर ५ को कार्यालय र देवघाट स्वास्थ्य चौकीलाई अन्यत्र स्थानान्तरण गरेर सो ठाउँमा १० शैयाको आधारभुत अस्पतालको शिलान्यास गरिएको थियो ।

तनहुँ क्षेत्र नम्बर १ का तत्कालिन प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले २०७७ साल मंसिर १५ गते उक्त अस्पतालको शिलान्यास गरेका थिए । उक्त आधारभुत अस्पताल निर्माणकोलागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले १० करोड ८५ लाख रुपैयाँ बिनियोजन गर्ने प्रतिबद्धता आएको थियो ।

 

अस्पताल निर्माणकोलागि रोशन–शिवशक्ति जेभी निर्माण कम्पनीसँग ७ करोड रुपैयाँमा २०७८ बैशाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले दुई वर्ष म्याद थप्न प्रस्ताव गरेपनि गाउँपालिकाले एक वर्ष मात्र म्याद थपेको थियो । उक्त एक वर्ष थपेको अवधिमा पनि अस्पताल निर्माण नहुने निश्चित जस्तै छ । दुई तले उक्त भवनको पहिलो तलाको ढलानकोलागि काम भईरहेको ईन्जिनियर ढुङ्गानाले बताए । यसमा पनि वाल लगाउने काम भने बाँकी नै रहेको छ ।

यस अघि केही समय अस्पताल निर्माणको लागि स्वास्थ्य सेवा विभागबाट बजेट बिनियोजन भएको थिएन । स्वास्थ्य सेवा विभागले अस्पताल निर्माण स्थलको जग्गाको विषयमा नै अड्को थापेको पुर्व प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिएका थिए । सार्वजानिक जग्गामा अस्पताल निर्माण गरिएपनि विभागले अस्पतालको नाममा जग्गाधनी प्रमाणपुर्जा खोजेको सुवेदीले बताएका थिए । अहिले जग्गा सम्बन्धी विवाद समाधान भएको बताईएको छ ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व अध्यक्ष यालबहादुर गुरुङले अस्पताल जस्तो संवेदनशिल भवनको निर्माण कार्य रोक्न नहुने बताए । अस्पताल निर्माणमा ढिलाई भएपछि देवघाटबासीको आधारभुत स्वास्थ्य सेवाकोलागि चितवनको भरतपुर जानुपर्ने बाध्यताको अन्त्य हुने आशा तत्काल पुरा नहुने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न