दमौली, माघ २३
आज माघ २३ गते साउनेपानी हत्याकान्डको २२ वर्ष पुरा भएको छ । सशस्त्र द्वन्द्वकालमा साविक छाङ गाविसको साउनेपानीमा २०५८ माघ २३ गते ८ जना माओवादी कार्यकर्ताहरुको सुरक्षाकर्मीले हत्या गरेको घटनालाई साउनेपानी हत्याकान्डको रुपमा चिनिन्छ ।
२०५८ माघ २३ गते बिहान सेल्टरमा बैठक बस्ने क्रममा माओवादीका ८ जना कार्यकर्तालाई सुरक्षाकर्मीले घेराहाली नियन्त्रणमा लिईसकेपछि सामुहिक हत्या गरेका थिए । उक्त घटनामा रिस्तीका भरतचन्द्र अधिकारी र कलावती अधिकारी, खैरेनीटारका गिता विक र सन्तोषी बराल, पुर्काेटकी कलावती पौडेल, मिर्लुङका गणेश परियार, श्याम्घाका वनबहादुर कुमाल र गोरखाका श्रीराम पौडेलको मृत्यु भएको थियो । मृत्यु हुने मध्ये रिस्तीका अधिकारीद्वय श्रीमान÷श्रीमती हुन् । उक्त घटना सशस्त्र द्वन्द्वकालमा तनहूँ जिल्ला भित्र भएको सबैभन्दा ठुलो घटनाको मानिन्छ ।
यसै सन्दर्भमा शहिदको सम्झनामा मंगलबार विहान नेकपा माओवादी केन्द्र व्यास नगर समिति र वाईसिएल व्यास नगर कमिटिले दमौलीको अनसन चौतारी र दमौली अस्पताल बिचको चौरमा सरसफाई गरि डस्टबिन राखि राखेको छ । यसै सन्दर्भमा आज व्यास नपा ६ शिशाघाट र ब्यास नपा ८ रिस्ति सोतिबेसीमा स्थानीय पार्टी समितिले शहिद स्मृति दिवसको कार्यक्रम आयोजना गरिएको नेकपा माओवादी केन्द्रका व्यास नगर अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए ।