७५ करोडको दूध र घ्यू गोदाममा थन्कियो

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०/५० टनका तीन वटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो । “उद्योगले १५ किलोको घ्यूका प्याकेट निर्माण गर्ने गर्दछ । तिनलाई चाङ लगाएर कोल्डस्टोरमा राखिएको छ”, प्रबन्धक दुर्गा पराजुलीले भन्नुभयो, “घ्यू कोल्डस्टोरमा माइनस २० डिग्री सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने हुन्छ ।

विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाउनुपरेका छ ।” उद्योग बन्द भएपनि झण्डै रु १६ लाखको बिजुली र रु १० लाख हाराहारीको डिजेल खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । योसँगै उद्योग सञ्चालन हुँदा रु ४० लाख हाराहारीको भुस प्रयोग हुने गरेको उहाँको भनाइ छ । प्रशोधन गरिएको घ्यू रु सात सय हाराहारी प्रतिकिलोमा बिक्री हुने गरेको छ । ठाउँ अनुसार प्रशोधन गरेका संस्थाले दररेट तय गर्ने गर्दछन् । यस हिसाबले पनि रु ४० करोडभन्दा बढीको घ्यू भण्डारणमा रहेको पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार २० हजार बोरा पाउडर दूध भण्डारण गरेर राखिएको छ । “एक बोरामा २५ किलो हुन्छ । दूध प्रतिकिलो बजारमा रु सात सय हाराहारीमा बिक्री हुने गरेको छ । खुद्रा बिक्री हुँदा दररेट संस्थाले केही बढी तय गर्ने गरेका छन् । यसरी हेर्दा रु ३५ करोड भन्दा बढीको पाउडर दूध भण्डारणमा छ”, उद्योगका प्रबन्धक पराजुलीले भन्नुभयो । उहाँका अनुसार प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन सकेको छैन ।

पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएका पराजुलीको भनाइ छ । डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उहाँले बताउनुभयो । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

एकतिस वटा डेरी उद्योग, निजी फर्म र सहकारीको दूध भण्डार भएर बसेको छ । उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिक रुपमा समेत समस्यामा परेको छ । प्रशोधन समेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती