दमौली, बैशाख १०
व्यास नगरपालिकाले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने संकल्प गर्दै शिक्षक तथा कर्मचारीका छोराछोरीलाई पनि सरकारी विद्यालयमै पढाउन निर्देशन दिने निर्णय गरेको हो ।
उक्त बैठकले नगरपालिका भित्रका सबै सामुदायिक तथा सांस्थागत विद्यालयमा २०८१ जेष्ठ मसान्त भित्रमा नगर शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन समेत दिएको छ । नगरपालिका भित्रका केही सामुदायिक विद्यालयमा अत्यन्त न्युन विद्यार्थी भएकोले त्यस्ता विद्यालयमा कक्षा व्यवस्थापन एवं समायोजन गर्ने गरि दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
व्यास नगरपालिका अन्तर्गतको वडा नम्बर १०, ११ ९ र ७ मा रहेको पराशर मार्ग (घाँसिकुवा–फराकचौर–अंधेरी भन्ज्याङ–माझफाँट–नरङ्गा–कलेस्ती) को १०.५ किमि विश्वबैंकको सहयोगमा निर्माण हुने मार्गको टेन्डर प्रक्रिया पुरा भई निर्माण अघि बढाउने सम्बन्धमा सम्बन्धित योजनाको परामर्शदाताबाट प्रस्तुतीकरण भई उक्त योजनाबाट बाँकी रहेको करिब २२ करोड रकमलाई अर्काे प्राथमिकताको योजनामा लगानी गर्न शहरी विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरि नगरपालिकाको फोहोर व्यवस्थापन गर्न, बर्गिकरण गर्ने काममा जनस्तरमा परामर्श दिन नियुक्त विज्ञबाट हालसम्म भएका प्रगति विवरण तथा सुझावहरु बैठकमा पेश गरि बैशाख १५ गतेदेखी वडाहरुमा फोहोर बर्गिकरण अभियान सुरु गरिने निर्णय पनि भएको जनाईएको छ ।
यसैगरि व्यास नगरपालिकाको हालसम्म कुल बजेटको ६६ प्रतिशत प्राप्त भएको र सो मध्ये आन्तरिक आय तर्फ ५९ प्रतिशत तथा चालु तर्फ ५६ प्रतिशत र पुँजीगत तर्फ २५ प्रतिशत वित्तिय प्रगति भएको र कुल खर्च ४३ प्रतिशत रहेको बैठकमा जानकारी गराउँदै वित्तिय प्रगति बढाउन थप पहल गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष जिवन गुरुङद्वारा प्रकाशित विज्ञप्तिमा जनाईएको छ ।