काठमाडौं, पुस १६
नेपाल पत्रकार महासंघले सन २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । महासंघले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरि यो वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा बृद्धि भएको जनाएको हो ।
समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का ६० वटा घटना अभिलेख भएको महासंघले जनाएको छ । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हनन्का घटना वृद्धि भएको महासंघले ठहर गरेको हो ।
सन् २०२३ मा प्रेस स्वतन्त्रता हनन्का ५८ र स्न २०२२ मा ५३ वटा घटना अभिलेख भएको र यस वर्ष सन २०२४ मा प्रेस स्वतन्त्रता हनन्का ६० वटा घटना हँुदा ३४ जना पत्रकार महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएको महासंघले जनाएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको भन्दै महासंघले समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाउनु परेको जनाएको छ । समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुव्र्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारि विज्ञप्तिमा सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन नसकेको तथा लामो सयमदेखि प्रतिक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता नपाएको जनाएको छ । यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको भन्दै महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानूनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानून निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको जनाएको छ ।
महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको भन्दै विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासंघले सरकारसँग जोडदार माग गरेको छ । साथै, सरकारले ल्याउने प्रेससम्बन्धी कानून प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र हाम्रा संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउनसमेत सरकारलाई आग्रह समेत गरेको छ ।
महासंघका अनुसार सन २०२४ मा प्रेस स्वतन्त्रतासँग सम्बन्धित हत्याका घटना १, गिफ्तारी ३, अवरोध ४, आक्रमण ११, दुव्र्यहवार तथा धम्की २४ तथा पेशागत असुरक्षासँग सम्बन्धित १६ वटा घटना भएको जनाईएको छ ।