दमौली, पुस २१
देवघाट सामाजिक संयन्त्रले देवघाट गाउँपालिकामा १४ बुँदे ध्यानाकर्षण गराएको छ । संयन्त्रले आइतबार गाउँपालिकाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।
देवघाट गाउँपालिका अन्तर्गत रहेका बिभिन्न योजनाहरु मध्ये केही योजनाहरूमा देवघाटवासी नागरिकका जनगुनासो अत्याधिक मात्रामा उठेका र नागरिकले आशा र भरोसाका साथ अपेच्छित ती योजनाहमा हाम्रो संयन्त्रको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाईएको छ । गाउँपालिकाका केही योजनाहरु पुरा हुने क्रममा छन् भने केही योजनाहरू फोश्रा आश्वासनमा मात्र सीमित रहेको संयन्त्रले जनाएको छ ।
दबिएर उकुसमुकुस अबस्थामा रहेका जनताका आवाजलाई मध्यनजर गर्दै यथाशिघ्र जनताका मागहरू सम्वोधन गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई ज्ञापनपत्र बुझाईएको देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अर्जुन अधिकारीले बताए । प्रस्तुत गरिएका मागहरु अविलम्व सम्वोधन हुने गरी ठोस कार्ययोजनाका साथ ‘समुत्रत देवघाट, हाम्रो चाहना’ भन्ने नारालाई आत्मसात गरी अगाडि बढ्न अनुरोध गरिएको छ ।
संयन्त्रले देवघाटका भुमीहिन दलित, भुमीहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीको लगत संकलन, कम्प्युटरमा प्रविष्टी, निस्सा वितरण र नापजाँचको काम समेत सकि सकिएको अवस्थामा जिल्ला समिति गठन भएको दिन देखिनै कार्यारम्भ सुचारु हुने गरी लालपुर्जा वितरणको प्रक्रिया वितरण गर्ने कार्यमा तदारुकताका साथ सहजीकरण गर्न माग गरेको छ । यसैगरि धार्मिक महत्वले प्रख्यात देवघाटधाममा बाँदरको आतङ्क चरम रुपमा रहेकोले धार्मिक यात्रु, स्थानीयबासीलाई समेत दैनिक जीवन यापनमा अत्यन्त कठिनाई भोग्नु परेकोले बाँदरको दिर्घकालीन व्यवस्थापनको योजना अविलम्व शुरुवात गर्न पनि माग गरिएको छ ।
घिनाटारचोक देखि टाउनचोक सम्म अन्तिम चरणमा पुगेको पिच बाटो केही स्थानमा गुणस्तरहीन काम भएकोले उक्त बाटोको तत्काल अनुगमन गरी गुणस्तरहीन स्थानमा अविलम्व गुणस्तरीय पिच बनाउन सम्वन्धित निर्माण व्यवसायीसँग सहजीकरण गर्नुपर्ने, देवघाट–५ घिनाटारमा निर्माणाधिन कभर्डहलको उचाई केही कम भयो भन्ने व्यापक जनगुनासो आएकोले सो सम्बन्धमा पुनः निरीक्षण र अनुगमन गरी कभर्डहल मापदण्ड अनुरूप हो वा होइन भनी सो अनुरूप गर्न, गराउन आवश्यकता अनुरूप पहल गर्न तथा स्थानीय साना ब्यबसायी जो पान मा मात्र दर्ता भएका छन् र भ्याटमा दर्ता भएका छैनन्, पालिका अन्तर्गत केही काम गर्नु पर्दा स्थानीय व्यवसायीहरूलाई पान बिलको आधारमा भुक्तानी दिने व्यवस्था मिलाउनु पर्ने माग गरिएको छ ।
यसैगरि बहु प्रतिक्षित गाईघाट (देवघाट ४) र कोटा, ढोडेनी (देवघाट १) पक्की पुल निर्माणार्थ प्रदेश सरकार र संघीय सरकारसँग सबै राजनैतिक दलका प्रतिनिधीहरु समेटी निर्माणार्थ अविलम्व पहल गर्नुपर्ने, चितवन र तनहुँ जोड़ने (घुमाउनेघाट पुल देवघाट झोलुङे, पुल) जिर्ण अवस्थामा रहेको र जुनसुकै बेला मानविय क्षती हुने जोखिम बढेर गएकोले अविलम्व मर्मतको काम र निस्क्रिय रुपमा रहेको भुवनटार घाटको पुल निर्माण शुरुवात गर्नु पर्ने, शान्ति सुरक्षालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय देवघाटको स्तरोन्न्ती प्रक्रियालाई अविलम्व अगाडि बढाउनुपर्ने तथा सामाजिक सुरक्षा भत्तालाई विकेन्द्रीकरणको सिद्धान्त अनुसार वडा वडामा वितरणको प्रवन्ध मिलाउनुपर्ने माग गरिएको छ ।
यसैगरि भौगोलिक बिकटतालाई मध्यनजर गर्दै देवघाट गाउँपालिका अन्तर्गतका वडा नं १,२,३ र ४ लाई पायक पर्ने स्थानमा जिल्ला प्रशासन कार्यालय दमौली तनहुँसँग समन्वय गरी मासिक २ (दुई) पटक घुम्ती शिविर अविलम्व सञ्चालन गर्नुपर्ने, स्थानीय स्तरमा छरिएर रहेका फलफूल तथा तरकारी जन्य उत्पादनको उचित भण्डारण र बजीकरणमा विशेष पहलकदमी योजनाहरु सञ्चालनमा ल्याउनुपर्ने, स्थानीय रुपमा उत्पादन हुने लोकल रक्सीलाई ब्रान्डिङ गरी वजारीकरणको व्यवस्थापन गर्नुपर्ने, स्थानीय रुपमा रहेका प्राकृतिक स्रोत साधनहरको उचित व्यवस्थापन हुने खालका उद्योगहरू स्थानीय ब्यवसायीहरुबाट ने सञ्चालन गर्ने वातावरण अविलम्व शुरुवात गर्नुपर्ने तथा नारायणगढ–मुग्लिङ सडकको बैकल्पिक बाटोको रुपमा चर्चामा आएको तनहुँ खण्डको योजना अलपत्र परेको भन्ने सुनिन आएकोले सो सम्बन्धमा यथार्थ बुझी अबिलम्ब पहल गनुपर्ने माग गरिएको देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अधिकारीले बताए ।
उक्त बुँदाहरु नागरिकले आशा र भरोसाका साथ प्रथम चरणमा राखेका केही प्रतिनिधीमूलक भावनाहरु भएको भन्दै अधिकारीले अन्य कुराहरुको सन्दर्भमा आगामी दिनमा पक्कै पनि गाउँपालिका र नागरिक समाजसँग हातेमालो गर्दै जनताका असन्तुष्टीलाई बेलैमा सम्बोधन होस् भन्ने हेतुका साथ ‘देवघाटको आधार धार्मिक, पर्यटन, कृषि र सम्पन्न पूर्वाधार’ भन्ने नारालाई अझ व्यापक र सार्थक बनाउन हरदम प्रयत्नशिल रहने बताएका छन् ।
मुलुकमा सुशासन र भ्रष्टाचार रहित समाज स्थापनाका लागि नागरिक समाजको सक्रिय भुमिकाको आवश्यकता र माग बढिरहेको वर्तमान अवस्थामा राज्यका सम्पुर्ण संयन्त्रलाई आ–आफ्नो कर्तव्य पालना गर्न र सेवाग्राहीहरूको सार्वजनिक जवाफदेहिता पुरा गर्न खवरदारी गर्ने सशक्त र संगठित नागरिक समाजको र सामाजिक अभियान जरुरी भएकोले देवघाट सामाजिक संयन्त्र नामक साझा संगठन स्थापना गरिएको अधिकारीले बताए ।
समाजमा रहेका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनितीक भेदभावहरु र असमानताको अन्त्य गरी सुशासित समाज निर्माण गर्दै नागरिकको आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारपूर्ण सुशासित एवं सभ्य समाजको स्थापना नै संयन्त्रको मुख्य लक्ष्य भएको भन्दै अधिकारीले हरेक पक्षको जागरुकताबाट नै स्वस्थ र समृद्ध समाज निर्माण गर्न सकिन्छ भन्ने विश्वास र अभिप्रायका साथ देवघाटबासीको अमुल्य राय, सुझाब र सल्लाह नै संयन्त्रको मार्गदर्शन हुने बताएका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु तथा देवघाट सामाजिक संयन्त्रका पदाधिकारीहरु उपस्थित रहेका थिए ।