देवघाट महा–महोत्सवको १६ औं दिनः माघे औंसीको अवसरमा देवघाटमा लाखौं भक्तजनको आगमन

Devghat Online

शेयर गरौ

देवघाट, माघ १६

बुधबार माघे औंशीको दिन पवित्र गण्डकी र त्रिशुलीको संगममा स्नान र देवघाट महा–महामहोत्सवको अवलोकनको लागि लाखौं भक्तजनको सहभागीता रहेको छ । देवघाटमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो भने मध्यान्हसम्ममा लाखौं भक्तजन देवघाट आएका थिए । सर्वसाधरण चढेर आएका सवारी साधनको व्यवस्थापन गर्न स्वयं सेवक र प्रहरीलाई निकै सकस परेको थियो ।

माघ १ गतेदेखी जारी देवघाट महा–महोत्सवमा भक्तजनहरूको भव्य उपस्थितिले महोत्सवको महिमा र गरिमा अझ बढाएको आयोजकले बताएका छन् । माघे संक्रान्ति र यस अघिको षट्तिला एकादशीको दिनमा भन्दा बुधबार धेरै भक्तजन देवघाट आएको दावी गरिएको छ ।

माघे औंसीलाई हिन्दू धर्ममा विशेष पुण्यफलदायी तिथिका रूपमा लिइन्छ । उक्त दिन गङ्गास्नान, तिल दान, र पितृ तर्पण गर्नाले असीम पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । यसै कारण बिहानैदेखि लाखौं भक्तजनहरू त्रिशूली–कालीगण्डकीको संगमस्थलमा स्नान गर्न भेला भएका थिए ।

महा–महोत्सवको कारण यस वर्ष माघे औंसीमा भक्तजनको सहभागिता झनै अभूतपूर्व रहेको थियो । बिहान ४ बजेबाट नै स्नान र दर्शन गर्नेहरूको भीड लाग्न सुरु भएको थियो । श्रद्धालुहरूको अत्यधिक भीड व्यवस्थापन गर्न स्वयंसेवक, सुरक्षा निकाय, र स्थानीय प्रशासनलाई निकै सकस भएको थियो ।

महा–महोत्सव आयोजक मूल समारोह समितिका अनुसार, बिहान ३ बजेदेखि बेलुका ४ बजेसम्म मात्र करिब पाँच लाख भक्तजनले स्नान तथा दर्शन गरिसकेका छन् । चितवन, नवलपुर, तनहुँ, काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, भारतको उत्तर प्रदेश, बिहार, सिक्किम तथा अन्य ठाउँहरूबाट समेत श्रद्धालुहरूको ठूलो आगमन भएको थियो ।

बिहान स्नान पश्चात् श्रद्धालुहरूले विशेष कथा–वाचन, प्रवचन, भजन–कीर्तन, हवन, पितृ तर्पण, र अन्य धार्मिक क्रियाकलापहरूमा सहभागिता जनाए । विशेष गरी बाल कथा वाचिका अनुराधा पाण्डेयको कथा प्रवचन सुन्न हजारौं भक्तजनहरू एकत्रित भएका थिए । माघ महिना भर प्रत्यक बेलुका गण्डकी नदी किनारमा हुने कोटी दीप प्रज्वलन कार्यक्रमले समग्र वातावरणलाई झन् भव्य र आध्यात्मिक बनाउने गरेको छ । महामहोत्सव अन्तर्गत प्रत्येक दिन गण्डकी महाआरती हुने भए पनि हिजो माघे औंसीका लागि भनेर आएका भक्त हरुका साथ् विशेष महाआरती सम्पन्न गरियो, जसमा हजारौं भक्तजनहरूले सहभागिता जनाए ।

महामहोत्सव व्यवस्थापन समितिका प्रेस संयोजक नारायण भण्डारीले भने, ‘नेपालकै इतिहासमा माघे औंसीको दिन यति ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता पहिलो पटक भएको अनुमान गरिएको छ । हाम्रा स्वयंसेवक तथा सुरक्षाकर्मीहरू अहोरात्र भक्तजनहरूको सहजताका लागि खटिएका छन् ।’ देवघाट क्षेत्रका व्यवसायी, होटल, यातायात, तथा अन्य सेवा प्रदायकहरूका लागि पनि यो महामहोत्सव अत्यन्त फलदायी बनेको बताएका छन् ।

माघे औंसीको अवसरमा यति ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति हुनु धार्मिक पर्यटन प्रवद्र्धनका लागि नयाँ अवसर भएको आयोजकहरू बताउँछन् । मातापिता सेवाश्रम तथा देवघाट दिव्यधामका परिकल्पनाकार र महोत्सवका सत्संकल्पकर्ता ईश्वर कृष्ण महाराजले देवघाटको धार्मिक तथा आध्यात्मिक महत्वलाई विश्वभर फैलाउनु आवश्यक रहेको र सरकारले यहाँको पुर्वाधार विकास र प्रचार प्रसारमा ध्यान दिने हो भने यस्तो भव्य सहभागिता हरेक वर्ष हुने बताए ।

महोत्सवमा आउने भक्तजनहरूको संख्यामा दैनिक रूपमा वृद्धि भइरहेकाले आयोजकहरूले रात्रिकालीन बसोबासका लागि थप २० वटा विशेष क्याम्पिङ टेन्टहरूको व्यवस्था गरिएको छ । यी टेन्टहरू टाढाबाट आएर महोत्सवमा सहभागी भई रातभर बस्न चाहन्छने भक्तजनका लागि उपलब्ध गराइने आयोजकले जनाएको छ । देवघाट दिव्यधाम निर्माणका लागि भक्तजनहरूले गर्ने जग शीला पूजाको कार्यमा पनि भक्तहरूको लामो लाइन देखिएको छ । श्रद्धा र भक्तिभावसहित भक्तजनहरूले दिव्यधाम निर्माणमा योगदान पु¥याइरहेका छन् । यो पूजामा सहभागी हुने भक्तजनहरूको संख्या दैनिक रूपमा बढिरहेको आयोजकले जनाएका छन् ।

महोत्सवका अन्य गतिविधिहरू पनि आज विशेष रूपमा सम्पन्न भइरहेका छन् । दिनभर कथा, प्रवचन र भजनकीर्तनका कार्यक्रमहरू चलिरहेका छन् । अनेक प्रवचनकारहरूका अमूल्य सन्देशले भक्तजनहरूलाई धार्मिक ज्ञान र भक्तिमा थप प्रोत्साहित गरिरहेको छ । सधा झैँ शनिबार साँझ पनि विशेष कोटी दीप प्रज्वलनको कार्य सम्पन्न हुनेछ । गण्डकी नदीको किनारमा लाखौँ दीप प्रज्वलित गरी विशेष महाआरतीको आयोजना हुनेछ । यो महाआरती माघ महिना भर नै प्रत्येक साँझ ५ बजे हुने गर्छ । गण्डकी नदीको आरतीमा उपस्थित हुने भक्तजनहरूले अलौकिक शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्ने अनुभव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई