सागर भण्डारी
देवघाट, माघ १६
बुधबार माघे औंशीमा देवघाटमा स्नान गर्न आएका सर्वसाधरणले सवारी पार्किङको व्यवस्था नहुँदा निकै सास्ती बेहोर्नु परेको छ । देवघाटको कालिगन्डकी र त्रिशुलीको संगममा औंशी स्नान गर्न हजारौं भक्तजन आएका थिए । उनीहरुले ल्याएका साना ठुला सवारी सयौं सवारी साधन व्यवस्थित पार्किङ नहुँदा रोडमै पार्किङ गर्न बाध्य भएका थिए । बुधबार देवघाटमा भक्तजनको भिड व्यवस्थापनमा पनि निकै चुनौती बढेको थियो ।
दासढुङ्गा–देवपुर सडक खन्डको इलाका प्रहरी कार्यालयदेखी देपवुर तर्फ र घिनाटार–टाउनचोक सडकमा सयौं सवारी साधन अव्यवस्थित रुपमा पार्किङ गरिएका थिए । ति अव्यवस्थित पार्किङको कारण वेणी संगमसम्म पुग्न भक्तजनलाई निकै सास्ती भएको थियो । यसवर्ष माघे संक्रान्ति, गत माघ १२ गते षट्तिला एकादशी र बुधबार परेको माघे औंशीमा दासदुङ्गा पुल र ठिमुराको पुल हुँदै सयौं सवारी साधन देवघाट आएका थिए । रोडमा नअटेका सवारी साधन व्यक्तिको आँगनमा र बारीमा पनि पार्किङ गरिएका थिए ।
माघे संक्रान्ति मेलाको व्यवस्थापनकोलागि महिनादिन अघि देखी देवघाट क्षेत्र विकास समितिको नेतृत्वमा व्यवस्थापनको काम हुने र त्यसमध्ये पार्किङ व्यवस्थापन पनि पर्ने हुँदा त्यस दिन केही सहज भएपनि त्यस बाहेक माघ १२ गतेको एकादशी र बुधबारको माघे औंशीमा भने भक्तजन तथा पार्किङको कुनै पनि व्यवस्थापन भएन । यसले गर्दा सर्वसाधरणले निकै सास्ती भोग्नु परेको थियो ।
देवघाटमा माघ १ गतेदेखी विश्व जागरण महाअभियान ट्रष्टको आयोजना तथा इश्वरकृष्ण महाराजको संकल्पमा देवघाट दिब्यधाम शिलान्यास तथा देवघाट महा–महोत्सव चलिरहेको हुँदा हजारौं सर्वसाधरण दैनिक रुपमा देवघाट आएका छन् । चितवनको रामनगर र आँपटारीबाट देवघाट जान त्यस्तै सास्ती हुन थालेपनि अधिकांश भक्तजन दासढुङ्गा र ठिमुरा हुँदै देवघाट प्रवेश गरेका थिए । त्यस्तै त्रिशुलीको पुलबाट हजारौं सर्वसाधरण वारपार गरेका थिए । भिड बढेपछि त्रिशुलीको पुल पार गर्न सर्वसाधरणलाई घन्टौं लागेको थियो ।
देवघाटका युवा रोशनदेव आचार्यले देवघाटको यो भिडभाड व्यवस्थापन गर्ने जिम्मा र दायित्व कस्को भन्दै माघे संक्रान्तिकोलागि १ महिना अगाडीदेखी तामझाम गर्ने निकायहरु कहाँ सुतेका छन् भन्ने प्रश्न गरेका छन् । उनले देवघाटमा भक्तजनको घुँईचो भनेर गमम्क परेर पोष्ट गर्दैमा हुन्छ भन्ने प्रश्न गर्दै यही व्यवस्थापनले भक्तजनहरु सँधै देवघाट आइरहन्छन भनेर सम्बन्धित निकायलाई प्रश्न गरेका छन् ।
देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले माघे औंशी र मकर स्नान महोत्सव भएकोले भक्तजनहरु र सवारी साधनको चाप बढ्दै गएकोले पार्किङ व्यवस्थापन इलाका प्रहरी कार्यालय र नगरप्रहरीबाट भएको तर स्थान अभाव भएकोले समस्या भएको बताए । उनले भक्तजन तथा सवारी साधनको पार्किङ व्यवस्थापनकोलागि देवघाटबासीहरुले सक्दो सहयोग गर्न अनुरोध गरे ।