तनहुँ । फागुन १०
बन्दीपुर गाउँपालिकाको डुम्रे बजारदेखी वडा नम्बर ६ को धरमपानीसम्म अवदेखी नियमित रुपमा बस सन्चालन हुने भएको छ । यस अघि जिपमा सन्चालन भईरहेको धरमपानीमा अव देखी प्रत्येक दिन नियमित रुपमा बस सन्चालन हुुने वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले बताए । धरमपानीमा शुक्रबार पहिलो पटक बस पुगेको थियो ।
डुम्रेबाट धरमपानीसम्म नियमित रुपमा बस सन्चालन गर्न वडा अध्यक्ष गुरुङले पहल गरेका थिए । उनकै पहलपछि गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र उपाध्यक्ष पन्चमाया गुरुङले बस धनीहरुसँग समन्वय गरि नियमित रुपमा बस सन्चालन हुने वातावरण बनाएका थिए ।
अवदेखी प्रत्येक दिन विहान ७.३० बजे वडा नम्बर ६ को कार्यालय धरमपानीबाट डुम्रेको लागि बस छुट्ने र डुम्रेबाट दिउँसो ३.३० बजे धरपमनीकोलागि बस छुट्ने वडा अध्यक्ष गुरुङले बताए । बस सन्चालन भएपछि यात्रुहरुले सुविधा पाउने भएका छन् ।
अव भाडा जिपको भन्दा ५० रुपैयाँ सस्तो हुने र धरमपानीबासीलाई आउन जानकोलागि पनि सहज हुने भएको वडा अध्यक्ष गुरुङले बताए । ‘सानो जिपमा धेरै यात्रुहरु झुण्डिएर यात्रा गर्नु पथ्र्याे’ वडा अध्यक्ष गुरुङले भने ‘अव बस सन्चालन भएपछि सहजरुपमा आव जावत गर्न पाउँछन् ।’ बस सन्चालन भएपनि यस अघि सन्चालन भईरहेको जिप पनि पुर्ववत रुपमा नै सन्चालन भईरहने वडा अध्यक्ष गुरुङले बताए ।
जिप सन्चालन भईरहेको साँघुरो सडकमा बस सन्चालन गर्नकोलागि स्थानीय बासिन्दाले श्रमदान गरि बाटो फराकिलो बनाएका थिए । बस सन्चालन भएको खुसीयालीमा स्थानीय बासिन्दाहरुले बसको पुजा गरि स्वागत गरेका थिए ।
बन्दीपुर–धरमपानी सडक स्तरोन्नतीको लागि संघीय सरकारको भौतिक पुर्वाधार मन्त्रालयले हालै पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष गुरुङ र वडा अध्यक्ष गुरुङको अनुरोध र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेको पहलमा भौतिक पुवाधारमन्त्री देवेन्द्र दहालले उक्त सडककोलागि पाँच करोड रुपैयाँ बिनियोजन गरेका थिए ।