तनहुँ । चैत २१
तनहुँ प्रहरीले मापसे गरि सवारी साधन चलाई प्रहरीलाई अभद्र व्यवहार गर्ने र मोटरसाईकल चोरी गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले विहिबार उनीहरुलाई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो ।



पक्राउ पर्नेहरुमा डडेलधुरा असिग्राम गा.पा. वडा नं. २ बस्ने बर्ष ४० का सवारी चालक रतन बहादुर महत र मोटरसाईक चोरी गर्ने एक नावालक रहेका छन् ।
विहिबार ९ः१५ बजेको समयमा ब्यास नपा–१ तालघरे स्थित पृथ्वी राजमार्गमा सवारी साधनका चालकलाई नियमित सम्झाई बुझाई तथा चेकजाँच गर्ने क्रममा लु.प्र.०१००१ ख ०५१९ नम्बर यात्रुबाहक माईक्रो बसका चालक जिल्ला डडेलधुरा असिग्राम गापा–२ बस्ने ४० बर्षिया रतन बहादुर महतले मादक पदार्थ सेवन गरी सवारी साधन चलाई डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई बिभिन्न अपशब्द प्रयोग गरी गाली गलौज गरी अभद्र ब्यवहार गरेकोले निजलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरिक्षक राजु अधिकारीले बताए ।
यसैगरि गत चैत १९ गते दिउँसो ब्यास नपा वडा नम्बर ३ स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँको कार्यालय अगाडी सडकमा पार्किङ गरी राखेको भानु नपा–९ का श्याम खाती क्षेत्रीको नाममा दर्ता रहेको बजाज कम्पनीको ग १७ प ४६६ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकल तथा मोटरसाईकल चोरी गर्ने ब्यक्तिको खोजतलास समेतको अनसुन्धान गर्दा एक नावालकले चोरी गरी जिल्ला ब्यास नपा–१३ पोखरीभञ्याङमा लगी चलाएको अवस्थामा बुधबार फेला पारी उक्त मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक अधिकारीले बताए ।












