तनहुँ । असार ५
बन्दीपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरिय खानेपानी परिक्षण, नतिजा प्रस्तुतीकरण तथा पानीजन्य रोगहरुका बारेमा सचेतना अभियान विहिबार सम्पन्न भएको छ ।



खानेपानीको सर्भिलेन्स तथा गुणस्तरीय खानेपानीको सुनिश्चतताका लागि सुरक्षित खानेपानी योजना निर्माण सम्बन्धि उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखाका प्रमुख किरण श्रेष्ठले बताए ।
सो कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशानलय पोखराद्वारा बन्दीपुर अस्पताललाई प्राप्त खानेपानी परिक्षण मेशिनद्वारा नियमित रुपमा गरिएको खानेपानी परिक्षणको नतिजाको बारेमा जानकारी गराईएको थियो । उक्त अवसरमा बन्दीपुर गाउँपालिकाका १६ वटा स्थानका खानेपानी (मुहान/संकलन ट्याङ्की/उपभोक्ता धारा) को परिक्षण नतिजा सार्वजनिक गरिएको थियो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बन्दीपुर अस्पतालका मेसु.डा.अनिल गिरीले पानीजन्य रोगको परिचय, रोकथामका बारे, प्रादेशिक स्वास्थ्य निर्देशानालय पोखराकी ल्याब टेक्निकल निरिक्षक सुशिला कार्कीले विद्यमान खानेपानी सम्बन्धी नीति नियम तथा व्यवस्थाका बारेमा तथा बन्दीपुरको समग्र खानेपानी परिक्षण नतिजा तथा अवस्थाको बारेमा बन्दीपुर अस्पतालका बरिष्ट ल्याब टेक्निसियन निरिक्षक रामप्रसाद भट्टराईले प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको सन्चालन बन्दीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठले गरेका थिए । सो कार्यक्रम सबै वडाको वडागत रुपमा विद्यमान पानीजन्य रोगको स्थिती बारेमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका ६ वटै वडाका अध्यक्षहरु, प्रादेशिक स्वास्थ्य निर्देशानलयका फोकल पर्सन, अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत एवं वडा सचिवहरु, खानेपानी संस्थानका पदाधिकारीहरु तथा कर्मचारीको उपस्थिती रहेको थियो ।












