तनहुँ । साउन २१
तनहुँको दुई सडकले विश्व बैंकबाट अनुदान सयहोग पाएका छन् । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले पाएका हुन् । विश्व बैंकको सहयोगमा नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत बजेट प्राप्त भएको हो चालु आर्थिक वर्ष २०८२/०८३ मा पुस महिना भित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन भएको छ ।
व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ स्तरोन्नति भईरहेका छन् । अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भई काम भईरहेको छ । उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ भने अन्य ठाउँमा नालासहितको कालोपत्र हुने गर्ने सम्झौतमा उल्लेख छ ।



सदरमुकाम दमौलीमा घनाबस्ती भईसकेकाले नयाँ सहरको रुपमा विकास गर्न र किसानलाई स्थानीय उत्पादनको बजारीकरणका लागि सहज बनाउन स्तरोन्नतिको काम अघि बढेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण यसअघि खुलेका ती ट्रयाकमा स्तरोन्नतिको काम भईरहेको न्यौपानेले बताए । सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको नगर प्रमुख न्यौपानेले बताए । निर्धारित पुस महिना सम्ममा काम पुरा गर्न गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यावसायीलाई निर्देशन दिएको छ । निर्देशन दिएपछि हाल धमाधम भईरहेको नगरपालिकाले जनाएको छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ ।
उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । विसं २०८२ असारसम्म सम्पन्न गर्ने गरी काम अघि बढाईएकोमा काम पुरा नभए पछि छ महिना म्याद थप भएको भएको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा.राजु पौडेलले जानकारी दिए । हालसम्म १८.२९ प्रतिशत काम भएको पौडेलले बताए । थपिएको समयमा पुरा गर्ने गरी काम गर्न निर्देशन दिईएको पौडेलले जानकारी दिए ।
सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार चार सय २७ को ठेक्का आह्वान भएको थियो । त्यसमध्ये नौ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३ दशमलव ४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो ।
दु्लेगौंडा–लामागाउँ सडक खण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको ६१ दिनमा काम पुरा गर्ने प्रतिबद्धता ठेकेदारले गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । म्याद थपिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको उनले जानकारी दिए । यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले वि.सं. २०८० चैत २५ गते सम्झौता गरेको थियो ।
मोटरमार्ग सात दशमलव एक किलोमिटर दूरी कालोपत्र गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । लामादेका अनुसार उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ । शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८,९ र १२ वडालाई जोड्छ । दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक–एक मिटरको नाला निर्माण हुनेछ ।
शुक्लागण्डकी–४ दुलेगौडाबाट शुक्लागण्डकी–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएकोमा अब समाधान हुने इञ्जिनियर तारापति भट्टराईले जानकारी दिए । सहरी विकास मन्त्रालयले कार्यक्रम सञ्चालन भएका पालिका र सहयोगी निकायबीच मङ्गलबार र बुधबार गरी दुई दिन काठमाडौंमा भेला गरी हालसम्मको प्रगती र भावी योजनाको बारेमा जानकारी गराएको छ । कार्यक्रमको मङ्गलबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । सो कार्यक्रममा तनहुँका दुवै पालिकाले ठेकेदारले काममा ढिलाई गर्दा समस्या परेको अवगत गराएका थिए । बारम्बार अनुगमन गरेर छिटो काम पुरा गर्न भने पछि हाल कामदार थपेको पालिकाको प्रगति प्रतिवेदनमा उल्लेख छ ।












