तनहुँ । असोज २२
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको बुधबार निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न कार्यालयको मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् ।



मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयको निरीक्षण गर्दै क्षतिको विवरणबारे चासो राखेका थिए । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले कार्यालयबाट हाल भइरहेका सेवा प्रवाहका बारेमा जानकारी लिएका थिए ।
त्यसक्रममा मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालयका विभिन्न कक्ष, प्रमुख जिल्ला अधिकारीको निवास, अदालतका इजलास, विभिन्न कक्षहरूको निरीक्षण गरेका छन् । त्यसैगरि सरकारी वकिल कार्यालय, डिभिजन वन कार्यालय, सिंचाई कार्यालय लगायतको पनि मुख्यमन्त्री पाण्डेले निरिक्षण गरेका थिए ।

निरिक्षण पछि मुख्यमन्त्री पाण्डेले आन्दोलनबाट गण्डकी प्रदेशका धेरै जिल्लामा क्षति पुगेको बताउँदै वैकल्पिक व्यवस्थाका माध्यमबाट जनतालाई सहज रूपमा सेवा प्रवाह गर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हाल कार्यालयबाट नयाँ नागरिकता र प्रतिलिपिको काम सुरु गरिसकेको जानकारी दिएका थिए । आगजनी र तोडफोडबाट प्रशासन कार्यालयको भवन पुनः प्रयोग गर्न असुरक्षित रहेकाले अन्य कार्यालयमा व्यवस्थापन गरेर कार्यालयको सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
निरीक्षणका क्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, प्रहरी उपरीक्षक टेकबहादुर कार्कीलगायत उपस्थित थिए ।












