तनहुँ । बैशाख १४
तनहुँको घिरिङ गाउँपालिकामा बसाई सराईको तथ्याङ्क गाउँपालिकालाई निराशा देखाउने खालको रहेको छ । चालु आर्थिक वर्षको साउन १ देखी चैत मसान्तसम्मको तथ्याङ्क अनुसार घिरिङ गाउँपालिकामा अन्यत्रबाट बसाई सरी आएका परिवारको संख्या ८ रहेको छ भने घिरिङबाट अन्यत्र बसाई सरी जानेको संख्या भने त्यसको निकै धेरै अर्थात ९० परिवार रहेको छ ।



यो ९० परिवार बैधानिक ढङ्गबाट बसाई सराईको कागजात लिएर जानेको मात्र तथ्याङ्क हो । तर त्यो भन्दा निकै धेरै संख्या कागजात नलिई अन्यत्र बसाई सरी जानेको हुन्छ । अहिले अन्यत्र बसाई सरी जाने तर कागजात भने आवश्यक परेको समयमा लैजाने वा गाउँमा घर भएपछि बेला मौकामा आउँनुपर्छ भनेर बसाईसराईको कागजात नलानेको संख्या निकै धेरै रहेको हुन्छ ।
यो तथ्यांकले के देखाउँछ भने ग्रामिण क्षेत्रबाट शहरी क्षेत्रमा बसाई सरी जानेको संख्या निकै धेरै छ । घिरिङ मात्र नभएर तनहुँको अन्य ग्रामिण क्षेत्रका स्थानीय तहमा पनि बसाई सराईको तथ्याङ्क मिल्दो जुल्दो नै देखिन्छ । बसाई सराईलाई रोक्न नसक्ने हो भने चाँडै नै गाउँ रित्तो हुने घिरिङ गाउँपालिका–५ देउरालीका सुमनकुमार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार घिरिङबाट बसाई सराई हुनुमा गाउँमा राम्रो शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य सुविधाको व्यवस्था नहुनु मात्रै हैन, त्यो भन्दा पनि मुख्य कारण भिमादबाट घिरिङको देउरालीसम्म आउने श्रृङ्गमार्ग र गाउँपालिकाकै अर्काे मुख्य सडक कृष्णमार्ग हो । उक्त दुइृ सडक मुद्धा मामिलाको कारण बर्षौ देखी अलपत्र र जिर्ण छ । मुद्धाको कारण विनियोजित रकम पनि प्रयोग गर्न नपाइने अवस्था रहेपछि सडक सँधै जिर्ण नै हुने ठानी गाउँलेहरु शहर तिर लागेका हुन् ।
त्यसैगरि गाउँमा बाँदर आतंक बढ्दो छ । कृषकले लगाएको अन्नबाली बाँदरले खाईदिँदा कृषकहरु अन्न विहिन हुनु परेको र बाँदरको आतंक रोक्ने कुनै व्यवस्था नहुँदा कृषकहरु निराश भई खेतबारी बाँझै राखेर अन्यत्र बसाई सराई गर्नुपरेको घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर रानाले बताए । बसाई सराईको अवस्था नरोक्ने हो भने केही वर्ष पछि सबै गाउँ रित्तो हुने र उम्मेदवारलाई भोट हाल्ने मतदाता समेत नहुने निवर्तमान अध्यक्ष रानाले बताए ।
बसाइृ सराईको कारण खेतबारी बाँझो भएपछि चामल र तरकारीहरु बजारबाट किन्नुपर्ने बाध्यता भएको वडा नम्बर ४ का वडा अध्यक्ष भिम बहादुर कुमालले बताए । यो ठाउँ मकै, मास, अदुवा, कोदो, तिलबडी खेतीको लागि प्रख्यात हो । यसअघि गाउँलेहरु यसैको खेती गरेर जिविको पार्जन गर्दै आएको वडा अध्यक्ष कुमालले बताए ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बसाई सराई रोक्नको लागि गाउँमै आवश्यक सुविधाहरु ल्याउनुपर्ने बताए । गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य सुविधाहरुको व्यवस्था र बाँदर आतंक रोक्न संघीय सरकारसँग सहकार्य गरिने अध्यक्ष थापाले बताए । ‘गाउँपालिकाका दुर्गम भेगहरूबाट बसाइँ सराइँ भई सुगम पालिकाहरूमा जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्र गाउँपालिकाभित्रबाट बसाइँ सरी आउने आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउनु जरुरी छ’ अध्यक्ष थापाले भने ।
उपभोग गर्ने नागरिकको अभावमा गाउँमा ल्याईएका विकासका योजनाहरु पनि प्रभावकारी नभएको अध्यक्ष थापाले बताए । ‘गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक लगायत विकासका सबै पुर्वाधारहरु पु¥याईएको छ ।’ अध्यक्ष थापाले भने ‘तर उपभोग गर्ने नागरिकहरु बजार झर्न थाले ।’ बसाई सराईको यो क्रमलाई नरोक्ने हो भने केही वर्षमा गाउँमा मानिस भेटिन गाह्रो हुने अध्यक्ष थापाले बताए ।
नागरिकलाई गाउँमै बसौं बसौं बनाउन विकासका पुर्वाधारसँगै व्यवसायीक खेतीमा अनुदान र आयआर्जनको कार्यक्रम पनि गाउँपालिकाले सन्चालन गर्ने अध्यक्ष थापाले बताए । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको छ । गाउँ पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने अध्यक्ष थापाले बताए । (लोकवाणी दैनिकबाट)












