डग स्निफिङसहित तनहुँमा संयुक्त लागुऔषध नियन्त्रण चेकिङ

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

तनहुँ प्रहरीले लागुऔषधको ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि खोजी तथा निगरानी अभियानमा तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा उक्त अभियान सञ्चालनमा ल्याएको हो ।

अभियानअन्तर्गत तनहुँको पृथ्वीराजमार्गमा पने तनहुँको शुक्लागण्डकी नगरापालिकाको कोत्रे क्षेत्रमा सवारीसाधन तथा शंकास्पद गतिविधिमाथि निगरानी र जाँच गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लागुऔषधको ओसारपसार हुन सक्ने सम्भावित मार्ग र संवेदनशील क्षेत्रलाई लक्षित गरी तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर शुक्रबा देखि अभियान सुरु गरिएको बताए । उनले लागुऔषधको कारोबार तथा दुव्र्यसनले समाजमा गम्भीर असर पारिरहेको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि आधुनिक तथा प्रभावकारी विधिको प्रयोग आवश्यक भएकाले तालिम प्राप्त कुकुर परिचालन गरिएको जानकारी दिए । जिल्लाका विभिन्न नाका, राजमार्ग क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानमा यस्ता निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने एसपी कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक द्धारिकाप्रसाद घिमिरेले तालिमप्राप्त कुकुरको प्रयोगले लागुऔषध लुकाइएका स्थान तथा ओसारपसारका प्रयास पहिचान गर्न प्रभावकारी सहयोग पुग्ने बताए । उनले लागुऔषध नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा सचेतनामूलक कार्यक्रम, निगरानी र कारबाहीलाई समेत सँगसँगै अगाडि बढाइरहेको जानकारी दिए ।

तनहुँ भएर गुड्ने राजमार्ग तथा विभिन्न नाकालाई प्रयोग गरी लागुऔषधको ओसारपसार हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले आगामी दिनमा पनि यस्ता विशेष अभियानलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू