तनहुँको विकास र सुशासनमा सांसद न्यौपानेको जोडः ९० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न निर्देशन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ५

तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेले तनहुँ जिल्लाको समग्र विकास, सुशासन र चुस्त सेवा प्रवाहका लागि सरकारी निकायहरूबीच बलियो समन्वय आवश्यक रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित विभिन्न १४ वटा सरकारी कार्यालयका प्रमुखहरूसँग मंगलबार आयोजित समीक्षा एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद न्यौपानेले विकास निर्माण र सेवा प्रवाहमा देखिएका ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा गत आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण र आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा योजना कार्यान्वयनबारे विस्तृत समीक्षा गरिएको थियो । कार्यालय प्रमुखहरूले प्रस्तुत गरेका प्रगति विवरण र चुनौतीहरू सुनेपछि सांसद न्यौपानेले आगामी आर्थिक वर्षमा गुणस्तरीय पुँजीगत खर्च ९० प्रतिशतभन्दा माथि पु¥याउने लक्ष्य राख्न आग्रह गरे । यसका लागि आवश्यक परे कानुनी, प्रशासनिक र नीतिगत समन्वयमा सांसदको तर्फबाट पूर्ण सहयोग र सहजीकरण रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

सांसद न्यौपानेले भूमि प्रशासनमा बिचौलिया रोक्न र जिल्ला प्रशासनमा लाइन अन्त्य गर्न निर्देशन समेत दिएका थिए । जनताले प्रत्यक्ष सास्ती भोग्नु परेका क्षेत्रहरू सुधार्न निर्देशन दिँदै उनले भने ‘सेवा प्रवाहमा सुधारः भूमि प्रशासन (मालपोत/नापी) कार्यालयहरूमा अनधिकृत रूपमा रकम लिने वा बिचौलिया हावी हुने गुनासो पूर्ण रूपमा अन्त्य गरिनुपर्छ ।’ जिल्ला प्रशासन कार्यालयमा नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाएर प्रविधिमैत्री र चुस्त सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने उनको जोड थियो ।

यसैगरि सांसद न्यौपानेले सडक, खानेपानी, सिँचाइ, ऊर्जा, प्रसारण लाइन, सहरी विकास तथा नयाँ सहर आयोजना जस्ता पूर्वाधारहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायहरूबीच पारदर्शी समन्वय हुनुपर्नेमा उनले जोड दिए । साथै, तनहुँ हाइड्रोपावरले सामाजिक उत्तरदायित्व अन्तर्गत माथिल्लो र तल्लो तटीय क्षेत्रमा वितरण गरेको रकमको न्यायोचित समीक्षा हुनुपर्ने बताउँदै, बाँकी रकम स्थानीय आवश्यकता र समानताका आधारमा पारदर्शी ढंगले बाँडफाँड गर्न उनले आग्रह गरे ।

‘विकास केवल योजना र बजेटमा होइन, यसको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र जनताप्रतिको उत्तरदायित्वमा निर्भर हुन्छ’ उनले भने ‘तनहुँको समृद्धि र सहज सेवा प्रवाहका लागि आफ्नो निरन्तर पहल रहन्छ ।’ सांसद न्यौपानेले प्रत्येक ३/३ महिनामा तनहुँ जिल्लाको पुँजीगत खर्चको प्रगति विवरण सार्वजनिक गर्ने गरी तयारी गर्न कार्यालय प्रमुखहरुलाई अनुरोध गरेका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले गत आर्थिक वर्षमा आ–आफ्नो कार्यालयबाट सम्पादित कामहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपी स्मृति दिवसमा देवघाटमा वृक्षारोपणसँगै अपाङ्गता भएका बालकलाई आर्थिक सहयोग

देवघाट । साउन ६ जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा साप्ताहिक रूपमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु

तनहुँ । साउन ५ तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा अबदेखि साप्तहिक रूपमा