चितवन,माघ १४-
भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बक्यौता रकम बढ्दै गएको छ । जिल्लाका सरकारी कार्यालय, उद्योग, विभिन्न संघ संस्था तथा व्यवसायीहरुले नियमित रुपमा रकम नतिर्दा बक्यौता रकम बढ्दै गएको हो ।
कार्यालयका अनुसार, अघिल्ला वर्षहरुको ३० लाख रुपैयाँ जरिवाना बाहेकको महशुल उठाउन बाँकी छ । “असार मसान्तसम्म विभिन्न ग्राहकबाट एक करोड ९७ लाख ७८ हजार रुपैयाँ खानेपानी महशुल उठ्न बाँकी थियो । त्यसमध्ये ६०० ग्राहकबाट अघिल्ला वर्षकै बक्यौता रकम ३० लाख रुपैयाँ उठ्न छ” कार्यालयका सूचना अधिकारी सञ्जय बरालले भने, “बारम्बार महशुल नतिर्नेहरुबाट नै रकम उठाउन सकिँदैन । त्यसमा सरकारी कार्यालयदेखि व्यापारीसम्मले दुई वर्षदेखि खानेपानीको महशुल तिरेका छैनन् ।”
साना ग्राहकबाट भन्दा पनि ठुला व्यापारी तथा विभिन्न संघसंस्थाले ठूलो रकम तिरेका छैनन् । विषेशगरि वडा नम्बर १, २, ३, ४ र १० का पुराना ग्राहकहरुबाट बढी रकम उठ्न बाँकी रहेको बरालले जानकारी दिए । कार्यालयको तथ्याङ्क हेर्दा एउटै ग्राहकबाट करिब साढे तीन लाख रुपैयाँ सम्म महशुल उठ्नुपर्ने देखिन्छ ।
भरतपुर ७ मा रहेको चितवन ऐकेडेमी फर टेक्निकल कलेजले तीन लाख ३८ हजार ३०६ सय रुपैयाँ, नारायणी आवाशीय ट्रेनिङ सेन्टरले एक लाख सात हजार रुपैयाँ, चेतना भिलेजले ८४ हजार ८३८ रुपैयाँ, शुभम कन्सट्रक्सनले ५२ हजार ६९६ रुपैयाँ, रोशन पोल्ट्री फिल्डले ५२ हजार ६९६ रुपैयाँ, द ब्रोदर्स फुटसल सेन्टरको २७ हजार ६३३ रुपैयाँ, नारायणगढमा रहेको किचन क्याफेले २१ हजार ९५० रुपैयाँ दुई वर्षदेखि तिरेका छैनन् ।
पानीको महशुल नबुझाउनेमा सरकारी कार्यालयहरु पनि अग्रपङ्तिमै छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनले एक लाख ३६ हजार ३३४, नेपाल ट्रष्टको कार्यालयले १ लाख ९९ हजार ६७७, भरतपुर माविले २८ हजार ४५२, नारायणी लिफ्ट सिँचाईले २७ हजार ९०० र वडा प्रहरी कार्यालय नारायणगढले २७ हजार १५३ रुपैयाँ खानेपानी महशुल तिर्न बाँकी रहेको छ । केही व्यक्तिहरुले पनि ठुलै रकम महशुल नतिरी बसिरहेका छन् । व्यक्तिगत तर्फ ४५ हजार रुपैयाँसम्म पुग्दा पनि रकम तिरेका छैनन् ।
बक्यौता रकम रहेका ग्राहकहरुलाई तिर्नका लागि ताकेता गरिरहेको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख प्रजापति दाहाल बताउँछन् । “खानेपानी महशुल नतिर्नेमा पुराना ग्राहक नै बढी हुनुहुन्छ । उहाँहरुलाई हामीले चिठी, फोनबाट तिर्न आग्रह गरेका छौँ” उनले भने, “अन्तिममा हाम्रो केही नलागेमा जिल्ला प्रशासन, वडा कार्यालयबाट सेवा नदिनका लागि अनुरोध गर्दछौँ ।”
पुराना ग्राहकहरुले खानेपानीको लागत कट्टा नगरी घर जग्गा छोडेर गएका कारण पनि महशुल उठाउन समस्या भएको उनले बताए । त्यस्ता ग्राहक अहिले भरतपुरमा ७३४ रहेको उनको भनाइ छ । त्यस्ता ग्राहकबाट ६ लाख रुपैयाँ उठ्न बाँकी रहेको दाहालले बताए । मिटर जडान नगरी पानी प्रयोग गर्ने ग्राहकहरु पनि रहेको उनको भनाइ छ ।
मिटर रिडिङ गरेको २ महिना भित्र महशुल तिरेमा तीन प्रतिशत छुट, तेस्रो महिनामा बिल अनुसारको रकम र चौथो महिनामा १० प्रतिशत, पाँचौँ महिनामा २० प्रतिशत र त्यो भन्दा माथि ५० प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ । लामो समयसम्म अटेर गरेमा ग्राहकको पाईप काट्ने प्रावधान छ । तर, अहिलेसम्म एक जना ग्राहकको पनि पाईप काटिएको छैन ।
“पानी जस्तो अत्यावश्यक वस्तुको धारा काट्न कठिन हुँदो रहेछ, मानवीयताले नदिँदो रहेछ” दाहालले भने, “धारा काट्दा बाँकी रहेको रकम पनि नउठ्ने डर बढी हुन्छ ।” यद्यपि पानीको चुहावट चुहावट भने निरन्तर घट्दै गएको उनले बताए । अहिले २४ प्रतिशत खानेपानी चुहावट हुने गरेको छ ।
ठूलो रकम उठ्न नसक्दा सेवाको गुणस्तरमा सुधार ल्याउन अप्ठ्यारो भएको उनले बताए । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले भरतपुरका १७ वटा वडामा खानेपानी पु¥याएको छ । १ देखि १२ सम्म वडाका सबै स्थान र १२, १३, १५, १५ र २२ नम्बर वडाका केही भागमा खानेपानी पुगेको छ । अन्यन्त्र पनि सेवा विस्तारको तयारीमा रहेको उनले बताए ।
भरतपुर महानगरपालिकाका ४१ प्रतिशत मानिसमा खानेपानी पुगेको छ । यहाँ दैनिक एक करोड ६५ लाख नौ हजार लिटर पानी खपत हुने गरेको दाहालले बताए । बोर्डमा एक लाख ६० हजार ग्राहक रहेका छन् । कार्यालयले दैनिक दुई करोड १७ लाख तीन हजार लिटर पानी उत्पादन गर्ने गर्दछ ।