देवघाट अनलाइन
आबुँखैरेनी, चैत २२
नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले तनहुँको आबुँखैरेनी गाउँ पालिका स्थित छिम्केश्वरीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना आफुसँग रहेको बताएका छन् । आबुँखैरेनी गाउँ पालिकामा नेकपा एमालेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले यस क्षेत्रको विकासको लागि आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने बताए ।



खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए । खनालले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने प्रतिबद्धता जनाए । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । देश र जनताको सेवाको लागि चुनावी मैदानमा आएको उनले बताए ।
आफुले जिन्दगीभर राष्ट्रियताको संरक्षण र सम्बर्द्धनमा लागिरहेको बताए । आफ्नो प्रहरीको सेवाकालमा देशको गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यकोलागि काम गरेको बताए । आफुले प्रहरी सेवाकालमा तनहुँका जनताको हितमा धेरै काम गरेको उनले बताए ।
नेकपा एमाले आबुखैरेनी गाउँ कमिटीका अध्यक्ष कपिल खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले स्थायी कमिटीका सदस्य किरण गुरुङ, केन्द्रीय सदस्य कृष्ण पौडेल, भगवती न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।












