देवघाट अनलाइन
दमौली, चैत २४
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेदवार डा.स्वर्णिम वाग्लेले तनहुँबासीले गौरव गर्ने सांसद बन्ने दावी गरेका छन् । शुक्रबार विहान दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वाग्लेले निर्वाचित भएर गएपछि तनहुँले गर्व गर्ने र तनहुँबासीले गौरव गर्ने खालको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पत्रकार भेटघाटमा वाग्लेले तनहुँको सुगम देखि दुर्गम क्षेत्र सम्मको भ्रमणले धेरै काम गर्नु पर्ने देखिएको बताए । बर्गिय असमानता, बिकाशका पूर्वाधार बन्ने तर स्तरहिन हुनु, पर्यटकिय सम्भावना बोकेको बिभिन्न क्षेत्रलाइ छनौट नगरिनु जस्ता समस्या देखेको बताए । नजिकैको पोखरामा पर्यटकको आइरो लाग्नु तर तनहुँको बन्दिपुर बाहेक अरु स्थानमा एक रात पनि नबस्ने भन्दै पर्यटकलाइ लोभ्याउने बिभिन्न योजना ल्याउन जरुरी रहेको पनि उनले बताए ।
आफु चुनाबी प्रतिस्पर्धामा उत्रिरहँदा संस्कारयुक्त राजनिति गर्ने र कसैलाइ गालि गरेर होइन सम्मान गरेर संगै प्रतिस्पर्धा गर्ने उनले बताए । वाग्लेले तनहुँ जिल्ला लोकतन्त्रबादीहरुको किल्ला रहेको भन्दै आफु त्यही लोकतन्त्रको लिगेसी धान्न राजनीतिमा आएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको विश्वास र मत दुबै जितेर स्थापित भएको भन्दै उनले अव देशको बैकल्पिक शक्ति नै रास्वपा भएको बताए ।
टुरिष्ट उम्मेदवार भन्ने आरोप लागेको प्रश्नमा उनले तनहुँका प्रदीप पौडेललाई काठमाडौँमा जिताउन आफुले धेरै सहयोग गरेको भन्दै त्यसबेला प्रदिप टुरिष्ट नहुने अहिले गोर्खाबाट आफु तनहुँ आउँदा कसरी टुरिष्ट भएँ ? भन्ने प्रश्न गरे । साथै उनले मादी वारीका शंकर भण्डारी मादी पारी चुनाव लड्न जाँदा टुरिष्ट नहुने र मस्र्याङदी पारीको आफु तनहुँमा चुनाव लड्न आउँदा कसरी टुरिष्ट हुने ? भन्ने प्रश्न सभेत गरे ।
देशको सिमा नक्शा मान्छेले कोरेका चित्र भएकाले यसले आफ्नो जितमा फरक नपार्ने उनले दावि गरे । ‘म यो भूगोलको लागि नयाँ होइन विभिन्न सन्दर्भमा मेरो यहाँ आउजाउ भइरहेकै हो’ उनले भने ‘अहिले झन् नजिकबाट यहाँको समस्या र सम्भावनालाई बुझने अवसर पाएको छु’ ।
तनहुँको सम्भावना र समस्याबारे आफुले यहाँका सरोकारवालहरुसँग छलफल गरी योजना बनाएको समेत उनले बताए । यहाँको सडक, शिक्षा, स्वास्थ्य, पोषण, सिंचाइ, खानेपानी लगायतका समस्या र जलस्रोत, कृषि, पर्यटनको सम्भावनाबारे योजना बनाएर अघि बढ्ने उनले बताए ।