दमौली, जेठ ३
तनहुँको भिमाद नगरपालिका र आवुँखैरेनी गाउँपालिकाले पुनः श्रम स्वीकृति दिन थालेको छ । उक्त दुबै पालिकाले विहिबार स्थानीय तहबाट नै पुनः श्रम स्विकृती दिएका छन् ।



भिमादमा नगर प्रमुख दधिराज सुवेदीले बैदेशिक रोजगारीको सिलसिलामा साउदि अरब जान लागेका भिमाद–१ निवासि दुर्गाबहादुर कुमाललाई विहिबार आधिकारिक स्टिकर सहितको श्रम स्विकृति प्रदान गरेका थिए । बैदेशिक रोजगारीलाई थप स्तरिय, ब्यवस्थित, सुरक्षित भरपर्दो र मार्यादित बनाउन स्थानिय जनताहरुलाई श्रम स्विकृति सम्बन्धि कार्यको लागी काठमान्डौ, पोखरा र अन्य कार्यालय सम्म धाउनु पर्ने सास्तिलाई अन्त्य गर्दै स्थानिय तह वाटै श्रम स्विकृति प्रदान गरिएको नगर प्रमुख सुवेदीले बताए ।
श्रम तथा रोजगार मन्त्रालयको परिपत्र अनुसार नगरपालिकाबाट नै श्रम स्विकृती दिने काम सुरु गरिएको रोजगार संयोजक अनुप पौडेलले बताए । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने पौडेलले बताए ।
यसैगरि आवुँखैरेनी गाउँपालिकाले पनि विहिबारबाट गाउँपालिकाबाट नै श्रम स्विकृती दिन थालेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले विहिबार पहिलो सेवाग्राहीलाई श्रम स्वीकृति हस्तान्तरण गरे । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई श्रम स्वीकृती प्रदान कार्य सुचारु गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

श्रम स्विकृतीका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । साथै बैंक खाता विवरण र पारिवारिक विवरण पनि लिएर आउनु पर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने रोजगार प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
यसरी श्रम स्वीकृत कार्य आफ्नो पालिकाबाट नै सेवा पाउदा काठमाडौँ तथा पोखरा जानुपर्ने वाध्यताबाट मुक्त हुनुका साथै अनावश्यक खर्च र विचौलियहरुबाट बचिने भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भए पनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि स्थानीय तहबाट नै श्रम स्विकृति दिन थालिएको श्रम मन्त्रालयले जनाएको छ ।
पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन भरिदिन्छन् । राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिन पाइन्छ । श्रम स्वीकृति लिनकै लागि काठमाण्डौ धाउने वा श्रम तथा रोजगार कार्यालयमा गएर लाइन लाग्नु पर्दैन ।













