दमौली, जेठ १३
बाँदरले दुख दिएपछि तनहुँका कृषकहरुले बाँदरको आतंक बन्द गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । सामुदायीक वन उपभोक्ता महासंघ बन्दिपुरको सहयोगमा प्राकृतिक पर्यावरण संरक्षण मन्चले दमौलीमा शनिबार कोणसभाको आयोजना गरेर बाँदरको आतंक बन्द गराउन माग गरेका हुन् । खेतबारीमा लगाएको बालि दिनदिनै बाँदर आएर खाइदिएपछि कृषकहरु मारमा परेका छन् ।



कृषकले लगाएको खाद्यबाली बाँदरले खाइदिने गरेकाले आफुहरु निकै समस्यामा परेको बन्दिपुरका कृषक राममाया रानाले बताइन् । ‘खेतबारीमा लगाइएको मकै बादरले खाने गरेको छ’ उनले भनिन् ‘बाँदरले बाली नै नष्ट गरिदिएपछि आफुहरु सडकमा आउन बाध्य भएका हौं ।’
बादरले खेतीबाली खाइदिने समस्याले गर्दा कृषि पेसाबाटै बिस्थापित हुने अवस्था आएको रानाले बताईन् । अर्का कृषक लालबहादुर पन्तले बाँदरलाई समातेर निकुन्ज तर्फ लैजानुपर्ने बताए । उनले बाँदरको ब्यबस्थापन नभएसम्म अन्नबाली राम्रोसँग उत्पादन गर्न नसकिने बताए ।
किसानको समस्यामा राज्य जिम्मेबार नबनेको कार्यक्रमका संयोजक सुदर्शन प्रधानले बताए । किसानलाई समस्या पर्दा राज्यले पनि सहयोग गर्ने भन्दै उनले यतिखेर किसानलाई बाँदरले दुख दिएको तर यसको समस्याको समाधान गर्न राज्यले चासो नदेखाएको उनले बताए ।












