भ्रष्टाचारको आरोपमा देवघाटका २ वटा सामुदायिक वनका अध्यक्षहरु हिरासतमा

Devghat Online

शेयर गरौ

देवघाट, माघ २८

आर्थिक अपचलनको आरोपमा देवघाट गाउँपालिकाका २ वटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षहरु १५ दिनदेखी डिजिजन वन कार्यालय तनहुँको हिरासतमा रहेका छन् ।

आर्थिक अपचलनको उजुरीको आधारमा वडा नम्बर २ स्थित पालेथुम्की सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष थमबहादुर मल्ल र वडा नम्बर ५ स्थित गैराढुङ्गा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरबहादुर गुरुङ्गलाई गत माघ १६ गते सव डिभिजन वन कार्यालय देवघाटले पक्राउ गरि डिभिजन वन कार्यालयमा पेश गरेको थियो । उनीहरु दुबै जना अनुसन्धानकोलागि डिभिजन वन कार्यालयको हिरासतमा रहेका छन् ।

वडा नम्बर २ को पालेथुम्की सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मल्लको विरुद्धमा वन समुहका उपभोक्ताहरुले गत असोज २९ गते सव डिभिजन वन कार्यालय देवघाटमा उजुरी गरेका थिए । वन समुहको नियमित साधारणसभा नगरेको, कार्यसमितिको बैठक नराखेको, कार्ययोजना विपरित जथाभावी रुख कटान गरि विक्री गरेको लगायतको आरोप लगाउँदै वन समुहका उपभोक्ताहरुले उजुरी गरेपछि सव डिभिजन वन कार्यालय देवघाटले उक्त उजुरीबारे प्रष्ट पार्न अध्यक्ष मल्ललाई स्पष्टिकरण सोधेको थियो । पटक पटक सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको र कार्ययोजना विपरित काम गरेको भेटिएपछि अनुसन्धानकोलागि पक्राउ गरिएको सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले बताए ।

यसैगरि वडा नम्बर ५ को गैराढुङ्गा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गुरुङ्गको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोमा अख्तियारले यसबारेमा लेखीपठाउन गत कार्तिक अन्तिम साता सव डिभिजन वन कार्यालय देवघाटलाई पत्राचार गरेको थियो । सव डिभिजन वन कार्यालयले उक्त वन उपभोक्ता समुहलाई गत मंसिर ७ गते पहिलो पटक पत्रलेखी उजुरीको बारेमा प्रष्ट पार्न अनुरोध गरेको कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

वन उपभोक्ता समुहले पहिलो पटक दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि १५ दिनको फरकमा पुनः २ पटक लिखित स्पष्टिकरण लिईएकोमा उक्त दुबै स्पष्टिकरण पनि चित्तबुझ्दो नभएको र प्रराम्भिक अनुसन्धानमा आर्थिक अपचलन गरेको देखिएपछि थप अनुसन्धानकोलागि पक्राउ गरिएको भट्टले जानकारी दिए । उक्त वन समुहले कार्ययोजना विपरित व्यापक रुपमा वन फडानी गरि काठ विक्री गरेको भन्दै वन समुहका उपभोक्ताले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

पक्राउ परेका मल्ल र गुरुङ्गको विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको र २५ दिन भित्रमा अनुसन्धान सकेर मुद्धाको थप प्रक्रिया अगाढी बढाईने उक्त मुद्धाको अनुसन्धान अधिकृत समेत रहेका सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख भट्टले बताए । उनीहरुलाई मुद्धा चलाउन आवश्यक देखिएमा जिल्ला सरकारी वकिल कार्यालयको राय लिएर डिभिजन वन कार्यालय तनहुँले जिल्ला अदालतमा मुद्धा दर्ता गर्न सक्ने भट्टले बताए ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख अशोककुमार श्रेष्ठले पक्राउ परेका दुबै जनाको अनुसन्धान भईरहेको र २५ दिनभित्र अनुसन्धान सकेपछि मात्र मुद्धाको थप प्रक्रिया हुने बताए ।

शनिबार देवघाटमा भएको सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ देवघाटको बृहत अन्तरक्रिया कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरु पक्राउ परेको विषयमा कुरा उठेको थियो । कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरुले उक्त मुद्धाको निश्पक्षरुपमा अनुसन्धान गरि दोषी देखिएमा कारवाही र निर्दाेष देखिएमा शिघ्र रिहाई गर्नु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को