भानुमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, फागुन ३०

भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा नेपाल शिक्षक महासंघ भानु आवद्ध पेशागत संगठनहरुसँगको सहकार्यमा मंगलबार शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षामा नवप्रवर्तनात्मक प्रविधिको प्रयोग र अभ्यास सम्बन्धी एकदिवसीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलको अध्यक्षता एवं भानु नगर प्रमुख आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले भानुको शैक्षिक अवस्था र अभ्यास सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । त्यसपश्चात आमन्त्रित सहजकर्ताहरुले आफ्ना विद्यालयका अनुभवहरु आदान प्रदान गरेका थिए ।

सो अन्तरक्रियामा भिमसेन आदर्श नमूना मावि देवचुली–७ नवलपरासीका प्रअ अग्निधर भुसालले गुणस्तरीय शिक्षाका विभिन्न आयामहरुको व्याख्या गर्दै उक्त विद्यालयले हासिल गरेका सफलताका कथा सम्बन्धी अनुभव आदानप्रदान गरेका थिए । सिर्जनशील र प्रविधिमैत्री प्रअ भुसालको नेतृत्वमा भएको विद्यालयको प्रगति, विकास गरिएको पद्धति, अनुशासन, शिक्षक विद्यार्थीको नियमितता, विद्यालयमा उपलब्ध सेवा सुविधाहरु, शैक्षिक गुणस्तर, बालमैत्री वातावरण, शिक्षक कर्मचारी बीचको सहकार्यता र विद्यालय र समुदाय बीचको सुमधुर सम्बन्ध सबैका लागि अत्यन्त प्रेरणादायी र अनुकरणीय रहेको भानु नगर शिक्षा अधिकारी पौडेलले बताए ।

उक्त विद्यालय सबै अभिभावकहरुको रोजाइको केन्द्र बनेको, वरिपरिका संस्थागत विद्यालय बन्द भई सबै बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना भएका, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समुदाय तथा अभिभावहरुबाट विद्यालयलाई पर्याप्त सहयोग प्राप्त भइरहेको अवस्था विषयवस्तुमा दक्ष युवा जनशक्ति, प्रधानाध्यापकको कुशल नेतृत्व र यथेष्ट शैक्षिक एवं प्रशासनिक अधिकार जस्ता कुराहरुले गर्दा विद्यालय उत्कृष्ट शैक्षिक गन्तव्य बन्न पुगेको देखिएको पौडेलले जानकारी दिए ।

त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला बराहताल गाउँपालिका–५ स्थित जनज्योति मावि बड्डीचौरका प्रअ नारायणप्रसाद सिग्देलले हाम्रा बालबालिकालाई कस्तो र कसरी व्यवहारिक शिक्षा दिन सकिन्छ भन्ने वारेमा आफ्नो सफल प्रयोग र अभ्यासका बारेमा अनुभव आदान प्रदान गरेका थिए । उनले खासगरी बालबालिकाहरुलाई ठूला कोरा सैद्धान्तिक ज्ञान दिएर शिक्षित वेरोजगार जनशक्ति उत्पादन गर्नुभन्दा आफ्नो भाषा, संस्कृति, माटो, हावापानी र आफ्नो परिवेश चिन्ने, नेपालमै संभावना र अवसरको खोजी गरी गरिखाने आत्मनिर्भर नागरिक उत्पादन गर्नुपर्ने सम्बन्धी मन्तव्य राखेका थिए ।

यस सम्बन्धमा जनज्योति माविले गरेका सफलताका कथाहरुलाई जोड्दै विद्यार्थीलाई विद्यालय तहदेखि नै श्रमसँग जोड्ने र व्यवसायिक सीपको साथसाथै आत्मनिर्भर र स्वरोजगार व्यक्ति आजको आवश्यकता हो भन्दै सबैलाई एकपटक गम्भीर भएर सोच्नु पर्ने प्रअ सिग्देलले बताए । विद्यालयले चाह्यो भने धेरै कुरा गर्न सक्छ र विद्यालय सिकाइ र अभ्यासको लागि एउटा पुर्ण अभ्यास हो भन्ने दृष्टान्त उनले प्रस्तुत गरेका थिए ।

जनज्योतिका प्राविधिक धारमा अध्ययनरत विद्यार्थीले सञ्चालन गरेका व्यवसायहरु जस्तै माछापालन, बँगुरपालन, च्याउखेती, बाख्रापालन, धानखेती, थोपा सिँचाइ तथा वायोचार प्रविधिबाट तरकारी खेती, मौरीपालन, कपुरको पातबाट तेल उत्पादन तथा व्दियालयबाट विद्यार्थीलाई व्यवसायको लागि निब्र्याजी ऋण प्रदान गरिने र विद्यार्थीले कमाएर तर्ने सिष्टम जस्ता अत्यन्त व्यवहारिक र हाम्रा युवा विद्यार्थीको माग र आवश्यकतालाई सम्बोधन गर्ने खालेको पद्धतिको विकासका सम्बन्धमा प्रअ सिग्देलले जानकारी गराएका थिए ।

अखिल नेपाल शिक्षक संगठन भानु नगर समितिका अध्यक्ष इश्वरीप्रसाद ढकालले सन्चालन गरेको सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन भानु नगर कमिटिका अध्यक्ष रिदय भट्टले स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । त्यसैगरी कार्यक्रमको अन्तमा नेपाल शिक्षक संघ भानु नगर समितिका अध्यक्ष ज्ञानेन्द्र पण्डितले समग्र कार्यक्रमको समीक्षा गर्दै सबै सहजकर्ता तथा सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय