देवघाट, माघ १२
दक्षिण एसियाली कराँते प्रतियोगितामा भाग लिन भारत जाने देवघाट गाउँपालिका–५ क्युँदी मनिषा गुरुङलाई देवघाट गाउँपालिकाले शुभकामना सहित बिदाई गरेको छ । शुक्रबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मनिषालाई शुभकामना सहित बिदाई गरेका थिए ।



मनिषाले भारतको सिक्किममा हुने दक्षिण एसियाली सितोरियो सोबुकान कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उक्त प्रतियोगितामा उनी ५० केजी समुहको प्रतिश्पर्धामा भाग लिनेछन् । मनिषा वडा नम्बर ५ स्थित कालिका माविकी छात्रा हुन् ।
उनको बिदाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाले खेलको माध्यमबाट देश र गाउँपालिकाको नाम चिनाउन सफल हुनकोलागि शुभकामना दिएका थिए । सो अवसरमा मनिषाको भारत यात्राकोलागि देवघाट गाउँपालिकाको तर्फबाट २० हजार नगद समेत उपलब्ध गराईएको थियो ।
सो बिदाई कार्यक्रममा बोल्दै कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले विद्यालयमा कराँते खेल ल्याउन सुरुका दिनमा विद्यालयलाई निकै चुनौती भएको बताए । विद्यालयको अथक प्रयत्नकै कारण विद्यालयकी छात्रा मनिषा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै भारतमा खेल खेल्न जान सफल भएकोमा अध्यक्ष डा.श्रेष्ठले खुसी व्यक्त गरे ।
उक्त कार्यक्रममा गाउँँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आले, कार्यपालिका सदस्य बावुराम परियार, वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष याम वहादुर मगर, गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, लेखा शाखा प्रमुख शरद न्यौपाने लगायले मनिषालाई शुभकामना दिएका थिए ।











