भिमाद नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

Devghat Online

शेयर गरौ

अन्जान परियार । भिमाद, जेठ १४

नगरपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। भिमाद नगरपालिका कार्यालयको सभाहलमा बुधबार नगरपालिकाका नगर प्रमुख तथा पालिका खोप समन्वय समितिका संयोजक दधिराज सुवेदीले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। ‘स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित गरिएको यस कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक शान्तिरामण वाग्लेले कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले स्वास्थ्य क्षेत्रमा स्थानीय तहको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै खोप कार्यक्रम मार्फत बालबालिकाको स्वास्थ्यमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकार र जिल्ला समन्वय समितिको भूमिका प्रति जनमानसमा आलोचनात्मक प्रतिक्रिया भइरहँदा स्थानीय तहले तीन तहको सरकारमध्ये सबैभन्दा प्रभावकारी सेवा प्रवाह गरेको दाबी गरे। वाग्लेले स्थानीय तहको सक्रियताले स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका क्षेत्रमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको समेत बताए।

त्यसैगरी कार्यक्रमका अध्यक्ष एबम् भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पुर्ण खोप पालिका घोषणा भएसँगै भिमाद नगरपालिकाले स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाए। उनले सम्पूर्ण नगरवासी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सबै वडाका प्रतिनिधिहरुको सहभागिता र सहकार्यले मात्रै यस्ता उपलब्धिहरू सम्भव हुने उल्लेख गर्दै सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रमको प्रारम्भमा स्वास्थ्य शाखा प्रमुख सुनिता धरेलले प्रतिवेदनमा प्रस्तुत गर्दै सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्कको आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको बताइन। भिमाद नगरपालिकामा हाल १५ महिना भित्रका ३३१ बालबालिका हरूले खोप लगाइरहेका छन् भने १६ देखि २३ महिनाका २३२ जना बालबालिकाहरूले पूर्ण खोप पाएको विवरण प्रतिवेदनमा प्रस्तुत गरिएको थियो। उ

क्त कार्यक्रममा उपस्थित जिल्ला समन्वय समिति प्रमुख, भिमाद नगरपालिकाका प्रमुख, वडा खोप समन्वय समितिका संयोजक तथा सम्पूर्ण पदाधिकारीहरु, अतिथिहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, पत्रकार, टोल विकास संस्था, आमा समूह, महिला सञ्चाल, मजदुर, व्यापारी, जनजाती, दलित, अपाङ्ग सञ्जाल एवं भिमाद नगरपालिकाका बासिन्दाहरुले आगामी दिनमा समेत उक्त खोप अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ ‘ख’ का उपसभापति आनन्द देव श्रेष्ठ, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी र वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीले मन्तव्य राखेका थिए। सो कार्यक्रमको अवसरमा जिल्ला समन्वय प्रमुख वाग्लेद्वारा भिमादका ९ वटै वडाका अध्यक्षहरु तथा स्वास्थ्यकर्मीहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रमको संचालन भिमाद स्वास्थ्य शाखाका कर्मचारी स्टाफ नर्स पुर्णिमा नेपालीले गरेकी थिइन, साथै स्वास्थ्यकर्मीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी