तनहुँ । चैत २६
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका कमजोरीहरू बढ्दै गएको जनगुनासोपछि तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर १ अन्तर्गत डुम्रे बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ ।



बन्दिपुर गाउँपालिकाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँको समन्वयमा सम्पन्न उक्त अनुगमनमा विभिन्न निकायको सक्रिय सहभागिता रहेको थियो । अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकृत ज्योति आचार्य, बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, सञ्चारकर्मी, नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
टोलीले डुम्रे बजार क्षेत्रका होटल, खाद्य पसल, मासु पसल तथा स्वास्थ्य संस्थाहरूलाई लक्षित गर्दै अनुगमन गरेको हो । अनुगमनका क्रममा केही होटल तथा पसलहरूमा लापरवाही भेटिएको छ । अनुगमनका क्रममा बिस्कुट, जुस, दालमोट, कोकाकोला, फेन्टा लगायतका म्याद गुज्रिएका खाद्य सामग्रीहरू जफत गरिएको छ भने पत्रीकामा खाने कुरा राख्न प्रचलन समेत हटाउन निर्देशन दिएको छ । साथै, अखाद्य तथा अस्वच्छ तरिकाले राखिएका खाद्य पदार्थहरू हटाउन निर्देशन दिइएको छ । करिब २९ हजार ७५ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ ।
यसैगरी, अधिकांश व्यवसायीलाई सरसफाइ कायम राख्न, गुणस्तरीय खाद्य सामग्री बिक्री गर्न तथा कानुनी मापदण्डहरू पालना गर्न निर्देशन दिइएको छ । सम्बन्धित अधिकारीहरूले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने जो–कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् ।












