काठमाडौं । चैत २६
पार्टीको सिफारिस अनुसार प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १३ दिन अघि नियुक्त भएका मन्त्री साहले पदीय मर्यादा विपरित पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएका थिए । उनको पृष्ठभूमि पनि विवादित नै भएको पाइएपछि उनलाई प्रधानमन्त्रीले हटाएका हुन् ।
उनै मन्त्री साह १० वर्षअघि एमबीबीएस परीक्षामा पास गराईदिने भन्दै रकम लिएको आरोपमा पक्राउ परेका थिए । रकम ठगी गरेको आरोपमा साहलाई पक्राउ गरेको सूचना प्रहरीले सामाजिक सञ्जालमा राखेको थियो । साह १३ दिन अघि मन्त्री बनेपछि उक्त समाचार पुन सतहमा आएको थियो । जसको कारण उनको नियुक्तीलाई लिएर सुरुदेखि नै विवादित बनेको थियो ।
एमवीवीएस परीक्षामा पास गराईदिने भनी रकम लिने वल्ड वाईड कन्सल्टेन्सी पुतलीसडकका संचालक महोत्तरी गोनरपुरा–६ घर भई काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने दिपक कुमार साह र सोही कन्सल्टेन्सीमा काउन्सीलिङ काम गरी बस्ने सिन्धुली आम्बोटे–९ घर भएका २५ बर्षीय गणेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
अधिकारीले त्यतिबेला काठमाडौँ नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तलाई आफु पुतलीसडकस्थित वल्ड वाईड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरुसँग राम्रो चिनजान रहेकोले असोज १५ गतेदेखि काठमाडौँ विश्व विद्यालयबाट हुने एमविविएस परीक्षामा पास गरीदिन्छु तर पैसा लाग्छ भनी विश्वास दिलाई पन्तको आमा विमला पन्तसँग २ लाख लिने सहमति गरेका थिए ।
त्यसपछि अन्य व्यक्तिहरुलाई बुझ्दा त्यसरी पास गराउन नसक्ने एकिन भएपछि महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए । अधिकारीले रकम बागेर्निङ गरी २ लाखको चेक लिए पश्चात अब काम हुन्छ, ढुक्क हुनुहोस भन्ने जस्ता आश्वसन दिँदै गरेको अवस्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
अधिकारीले उक्त काम सन्चालक दिपक कुमार साह मार्फत हुने बताएपछि प्रहरीले टेकुबाट साहलाई समेत पक्राउ गरेको थियो । उनी त्यतिबेला २६ वर्षका थिए । दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको थियो । साथै साहले आफुलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएकोमा उनको बास्तविक डाक्टर नभएको समेत खुल्न आएको प्रहरीले बताएको थियो ।
उनै नक्कली डाक्टर साह प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाबाट निर्वाचित भएका थिए । उनलाई बालेन सरकारले श्रममन्त्री बनाएको थियो । तर उनको पृष्ठभूमिलाई लिएर आलोचना हुनुको साथै पत्नीलाई पदीय मर्यादाविपरित नियुक्त गरेको पाइएपछि उनी मन्त्री पदबाट बर्खास्तीमा परेका हुन् ।












