तनहुँ । बैशाख ९
संघीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपठान कार्य बैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएपनि तनहुँका सबै स्थानीय तहले उक्त निर्देशनको अवज्ञा गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले गत चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान बैशाख १५ गतेबाट र पठनपाठन बैशाख २१ गतेबाट मात्र सुरु गर्न निर्देशन दिएको थियो ।



नेपाल सरकार मन्त्रीपरिषदको चैत २२ गतेको निर्णय अनुसार भन्दै केन्द्रले विद्यार्थी भर्ना अभियान र पठनपाठन सुरु हुने मिति तोकेको थियो । केन्द्रले बैशाख २ गतेबाट शैक्षिक कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका निर्माण गर्ने, विद्यालय सुधार सम्बन्धि नीति, योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकासका कार्यहरु गर्ने तथा विद्यार्थीको सिकाई उपलब्धी सुधार सम्बन्धी कार्यहरु गर्न अनुरोध गरेको थियो ।

तर तनहुँका सबै स्थानीय तहले भने संघीय सरकारले तोकेको अवधि अघि नै पठनपाठन सुरु गरेका छन् । तनहुँमा बुधबारबाट सबै स्थानीय तहमा पठनपाठन सुरु भएको छ । आबुँखैरेनीमा बैशाख २ गतेबाट, व्यास नपा, शुक्लागण्डकी नपा, भिमाद नपा, म्याग्दे र देवघाट गाउँपालिकामा बैशाख ७ गतेबाट तथा भानु र बन्दीपुरमा बैशाख ९ गते बुधबारबाट पठनपाठन सुरु भएको छ । ऋषिङ र घिरिङले पनि पठनपाठन सुरु गरिसकेको ति पालिकाले जनाएका छन् ।
‘संघीय सरकारले बैशाख २१ गतेबाट मात्र पठनपाठन सुरु गर्ने निर्णय गरेपनि नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभुत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धि अधिकार स्थानीय तहको भए बमोजिम स्थानीय तहको आवश्यकतालाई हेरी सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय र शिक्षा समितिको निर्णय अनुसार शैक्षिक क्यालेन्डर सफल पार्न पठनपाठन सुरु गरेको स्थानीय तहहरुले जनाएका छन् ।












