मुर्झाएको कम्युनिस्ट आन्दोलन नेपाली अस्पतालमा

Devghat Online

शेयर गरौ

सन्दर्भः नेकपा स्थापना दिवस


            शेषमणी आचार्य

लेनिनले जग बसालेको र स्टालिनले निर्माण गरेको समाजवादी सोभियत संघ पछिल्ला दिनमा गलत व्यवस्थापनले ७४ वर्षमा गोर्वाचोभको विसर्जनवाद र गेन्नादी येनायबको वालहठले धराशायी भयो । आखिर समाजवादी क्रान्तिको उत्तर सोभियत कालको रुसी मोडल असफल भयो ।

नेपालको कम्युनिस्ट आन्दोलन रुपमा केही फरक देखियो । तर यसले केही सिक्न चुक्यो जस्तो भयो अहिले यो मुर्झाएको छ, अस्थायी कोमामा विश्राम गरेको छ । आज नेपाल कम्युनिस्ट पार्टीको ७७ वर्षगाँठ हो । यद्यपि यो लेनिन जन्मदिनमा स्थापित हुनाले यसको असली जन्मदिन त २२ अप्रिल नै मान्नुपर्ला । कसैले १५ सेप्टेम्बर पनि भन्दछन् । एकपटक संस्थापक निरञ्जन गोविन्द वैद्यसँग उहाँको पसल भोटाहिटीमा चिया भेटघाट हुँदा मैले उहाँसँग सोधेको थिएँ–“दाइ नेकपाको असली स्थापना दिवस कुन हो, २२ अप्रिल कि १५ सेप्टेम्बर ? उहाँले सटिक जवाफ दिनुभयो ,‘भाइ कसैको जन्मदिन जन्मेको समयलाई दिनुहुन्छ कि न्वारान गरेको !’ –उहाँको प्रष्ट कुरा थियो २२ अप्रिल ।

यसमा अहिले यतिमात्र ।

जन्मेको आठ दशकको यो यात्राक्रममा नेकपाले धेरै घुम्ती पार गरेको छ । यो अनेक भङ्गालामा परिणत भएको छ । वास्तवमा पुष्पलाल र साथीहरूले स्थापना गर्नुभएको कम्युनिस्ट पार्टी अहिले छ कि छैन वहसको विषय बन्दछ । अहिले त नेपाल कम्युनिस्ट पार्टी नै छैन, छ त केवल एमाले, क्रान्तिकारी, माओवादी, नेकपाहरू । अर्को थपिएको छ, नेपाली कपा पनि, यो नेपाल कपा भएन । नेपाली र नेपाल को शाब्दिक अर्थ फरक छ, शब्दकोश हेरौँ । जे होस् नेपाल कम्युनिस्ट पार्टीको आज वैशाख १० गते स्थापना दिवस हो । हामीलाई सुविधा भयो यसलाई हिँजो माने पनि भयो, आज माने पनि भयो । जुन समयमा कलकत्ताको श्याम बजारमा एक बङ्गाली (?) को घरमा स्थापना भयो त्यो । दिन १९४९÷०३÷२२ अर्थात् २००६÷०१÷१० गते नै हो । पछि क्यालेण्डर गणनाले यताउता परिरहन्छ ।

मेरो विचारमा नेपालका कम्युनिस्ट पार्टीहरुले यो जन्मदिन दुईपटक मनाउन पर्छ, एकपटक २२ अप्रिल वा १५ सेप्टेम्वर अर्को दुई दर्जन आसपासका कपा (फुर्का सहित वा रहित) हरुले आ–आफ्नो जन्मदिन ।

अर्को कुरा साथीहरु नेकपा नेपालमा यही मात्र थियो भने जस्तो गर्नुहुन्छ, यो जन्मँदैमा विभाजित थियो । भारतीय कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्ती र रतनलाल ब्राह्मणको प्रत्यक्ष सहयोग सल्लाहमा यो पार्टीको स्थापना हुँदा थाहा भए अनुसार ६ जना साथीहरू सम्मिलित हुँदै हुनुहुन्थ्यो, जसमा मोतीदेवी श्रेष्ठ र गङ्गालाल श्रेष्ठ हलुवाई (अमर सहिद गङ्गालाल हैन) हुनुहुन्थ्यो । गंगालाल अलि हठी स्वभावको हुनुहुन्थ्यो । काठमाडौंमा केही साथीहरुले साम्यवादी सर्कलहरू गोप्य रुपमा स्थापना गरिसक्नु भएको थियो, जसमा हलुवाई पनि एक रहेछन् । कलकत्तामा पार्टी स्थापनाको निम्ति मोतीदेवी र गंगालाल हलुवाई पुग्नुभयो । शेल्टरमा नृपेन्द्र चक्रवर्ती सहित जाँदै गर्दा बाटामा केही विवाद हुँदा हलुवाई त्यहीँबाट फर्कनुभयो । उहाँलाई गोरखपुरसम्म पुर्याउन पुष्पलालले मोतीदेवीलाई पठाउनु भयो, स्थापना दिवसमा सशरीर मोतीदेवी रहन सक्नुभएन तथापि उहाँको समर्थन रह्यो र उहाँ नेपाल कम्युनिस्ट पार्टीको संस्थापक रहनुभयो ।

गङ्गालालले त्यसपछि ‘लाल कम्युनिस्ट पाार्टी’ को स्थापना गर्नुभयो, यो पूर्वी नेपालतिर अस्तित्वमा रह्यो । यसका केही सुनिएका नेताहरू भुवनलाल प्रधान, माणिकलाल श्रेष्ठहरू हुनुहुन्थ्यो । यी दुई क.पासँगै अर्को पनि सुनिन्थ्यो, जसलाई ‘जनमुक्ति कम्युनिस्ट पार्टी’ भनिन्थ्यो, यो अहिले चर्चामा पनि छैन, खोजी गरौँ न । यसका संस्थापक सायद तराई तिरका मधेशी मूलको कुनै क्रान्तिकारी हुनुपर्छ ।

अहिले नेपाली कम्युनिस्टहरु अनेक कुवामा विभाजित छन् । जति एकीकृत भन्यो उति भ्यागुताको धार्नी भइरहेको छ । तर नेपाली समाजमा कम्युनिस्ट प्रतिको आशा छँदै छ । अब एकथरि नेपालबाट कम्युनिस्ट हराए भन्दैछन्, तर जबसम्म संसारबाट असमानता, वर्गभेद र शोषण रहिरहन्छ तबसम्म कम्युनिस्ट कसरी हराउँछन् ? बरु नेपालका कम्युनिस्टहरूले फेरि अब इतिहासबाट पाठ सिकेर उठ्न सक्नुपर्दछ, आजको दिनको इतिहासले यही सिकाउँछ, के नेपालका कम्युनिस्टहरू पहिला आफैँमाथि तातो पानी खन्याएर इतिहासको लिकलाई सोझ्याउन सक्लान् ?

यस दिनमा कामरेड पुष्पलालको यो भनाइ कुण्ड कुण्ड पानी मुण्ड मुण्ड वुद्धिलाई उधृत गर्दै अब नेपाली जनताको भविष्य कम्युनिस्ट पार्टीमै निहित छ । अस्ताउने त कम्युनिस्ट पार्टी हैन, साम्राज्यवाद अस्ताउँछ, पूँजीवाद अस्ताउँछ, शोषक र शोषित वर्ग बिचको विभेद अस्ताउँछ, साँझको घाम एकछिन अर्को गोलार्धमा प्रवेश गर्छ तर भोलि बिहान अवश्य उज्यालो हुनेछ । पूर्वको पहाडबाट रातो घाम ब्युँझनेछ । अहिले एकछिन यो मुर्झाएको छ, कोमाबाट यो फेरि उठ्नेछ । उठ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको