तनहुँ । बैशाख १५
व्यास नपा १ भादगाउँ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष चिजबहादुर दरैको निधन भएको छ । आइतबार मस्तिष्कघात भएका दरैको पोखरा स्थित चरक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।



दरै नेपाल दरै उत्थान संघका केन्द्रीय उपाध्यक्ष हुन् । उनले लामो समय जलदेवी मावि भादगाउँमा शिक्षण समेत गरेका थिए । दरैकी पत्नि इन्दिरा व्यास नगरपालिकाको उपप्रमुख रहेकी छिन् । उनका दुई छोरा रहेका छन् ।
दिवंगत दरैको मंगलबार दमौली घाटमा अन्तिम संस्कार गरियो । उनको पार्थिव शरिरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायत नेपाली काँग्रेसका नेताहरुले पार्टीको झण्डा ओढाएका थिए । उनको अन्तिम संस्कारमा ठुलो संख्यामा सर्वसाधरणको उपस्थिती रहेको थियो ।
भादगाउँबासीलाई पर्याप्त पानी खुवाउने दरैको चाहाना उधुरै

व्यास नपा–१ भादगाउँ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोश्रो कार्यकालको नेतृत्व गरिरहेका दरैले भादगाउँबासीलाई पर्याप्त पानी खुवाउने योजना सहित काम गरिरहेका थिए । २६८१ घरधुरी उपभोक्ता रहेको उक्त बृहत खानेपानी उपभोक्ता संस्थाको नेतृत्व गरिरहँदा दरैको मनमा सँधै उपभोक्तालाई पर्याप्त मात्रामा पानी वितरण गर्ने चाहाना थियो ।
जसकोलागि हाल नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी उपभोक्ता संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्टिङ खानेपानी योजना सन्चालन भईरहेको थियो । उक्त मादीनदी लिफ्टिङ खानेपानी योजनाको कुल बजेट २६ करोड २५ लाख भएपनि बोलपत्र मार्फत पराजुली कन्स्ट्रक्सनले वि.सं २०८० भदौभित्र सम्पन्न गर्ने गरी वि.सं २०७९ भदौमा १९ करोड रुपैयाँमा सम्झौता गरि काम सुरु गरेको थियो । तर सम्झौता अवधीमा भने उक्त योजना पुरा हुन सकेन ।
‘अध्यक्षको रुपमा दरैमा जहिलेपनि उपभोक्तालाई पर्याप्त पानी वितरण गर्ने हुटहुटी थियो’ उपभोक्ता संस्थाका सचिव राजेश्वर हड्खलेले भने ‘योजना कार्यान्वयनकोलागि उहाँ जहिल्यैपनि रिनन्तर र इमानदारीताका साथ लागिरहनु हुन्थ्यो ।’ व्यास नपा–४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याएर व्यास १ वासीलाई प्रशस्त मात्रामा वितरण गर्ने योजना अनुरुप निर्माण कार्यलाई तीब्रता दिइएको सचिव हड्खलेले जानकारी दिए ।
दुई कार्यकाल उक्त संस्थाको अध्यक्ष पदमा रहेर निस्वास्र्थ भावनाले काम गरेका दरै सरल स्वभावका धनी तथा सबैका लागि प्रेरणाको स्रोत थिए । दरैले विभिन्न संघ संस्थाको नेतृत्व समेत गरेका थिए । आइतबार साँखर दरै समाजको कार्यक्रममा प्रमुख अतिथी रहेर कार्यक्रमलाई सम्बोधन गरेर घर फर्केपछि अस्वस्थ महशुस गरेका दरैलाई उपचारकोलागि पोखरा लगिएको थियो ।












