तनहुँ । बैशाख २९
अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा मंगलबार म्याग्दे गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका सरकारी तथा गैरसरकारी निकायहरूलाई भ्रष्टचार निवारण सम्बन्धि जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।



उक्त कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकामा भ्रष्टाचार र अनियमिततालाई शुन्यमा झार्ने गरि काम भईरहेको बताए । खर्च कटौती, बेरुजु कम तथा शुसासन प्रबद्र्धनको लागि गाउँपालिकाले सँधै प्राथमिकताका साथ काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।
सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख नारायण प्रसाद रेग्मीले जब मानिसहरुमा आफुलाई चित्त बुझ्दैन कुनै काम प्रति असुन्तुष्ट हुन्छ तब उजुरी गर्ने गरिन्छ भन्दै सबै उजुरी पर्ने व्यक्ति दोषी नहुने भएकाले उजुरी पर्याे भन्दैमा डराउन नपर्ने बताए । उजुरी परेपछि त्यस सम्बन्धि निश्पक्ष छानविन हुने र निर्दाेषलाई सफाई र दोषीलाई कानुन अनुसार कार्वाही हुने रेग्मीले बताए । ‘आफुले सत्कर्म गर्ने हो, सत्कर्म गर्दैमा कसैले पनि उजुरी नहाल्ने तर उजुरी हालेमा पनि निर्दाेष भए सफाई पाइन्छ, दोषी भए सजाय’ रेग्मीले भने ‘सरकारी सवारी साधान सरकारी कामकारवाही भन्दा बाहिर चलाएको खण्डमा त्यसलाई पनि भष्टाचार मानिने हुँदा उजुरी गरे त्यसमा पनि कारवाही हुन्छ ।’
उक्त कार्यक्रममा आयोगका अधिकृत उदय पराजुलीले भ्रष्टाचार र अनियमितता विरुद्ध उजुरी कसरी गर्ने, भ्रष्टाचारको रुप, भ्रष्टाचार कसुर र सजाय (भ्रष्टाचार निवारण ऐन २०५९ दफा ३–२३) को बारेमा जानकारी गराएका थिए । आयोगका अनुसार आर्थिक वर्ष ०८२÷०८३ मा म्याग्दे गाउँपालिकाको विरुद्ध ५ वटा उजुरी परेकोमा ३ वटा फर्र्छाैट भईसकेको छ ।
सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले भ्रष्टाचार र अनियमितता नियन्त्रणकोलागि गाउँपालिकाले खेलेको भुमिकाको बारेमा मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन, टोल विकास संस्था, उपभोक्ता समुहका प्रतिनिधि तथा विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











