देवघाट । बैशाख ३१
देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर स्थित बराह आधारभूत विद्यालयलाई साराथी टुगेदर फर जर्मनी संस्थाबाट एक थान ल्यापटप सहित शैक्षिक सामग्री सहयोग गरेको छ । विहिबार विद्यालयमा आयोजित कार्यक्रममा सो सहयोग उपलब्ध गराईएको हो ।



सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बुद्धि बहादुर पाण्डेले आफू विगतमा सामुदायिक वन समुहको अध्यक्ष भए देखि अहिले वडा सदस्य रहदासम्म बराह आधारभुत विद्यालयलाइ सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो कार्यक्रममा सारथी टुगेदर फर जर्मनी नेपालका प्रमुख नारायण पुरीले शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले विद्यालयलाई यसअघि स्मार्ट बोर्ड सहयोग गरिएको र अहिले थप रूपमा ल्यापटप पनि प्रदान गरिएको बताए । यस सहयोगले विद्यालयको शैक्षिक वातावरण अझ प्रविधिमैत्री बन्नुका साथै विद्यार्थी भाइबहिनीहरूले नयाँ प्रविधिमार्फत सहज, प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अपेक्षा गरिएको पुरीले बताए ।

स्मार्ट बोर्डको प्रयोगबाट कक्षाकोठामा पढाइलाई अझ रोचक र व्यवहारिक बनाइने विद्यालयका प्रअ सोम बहादुर थापाले बताए । ल्यापटपको सहयोगले शिक्षकहरूलाई शिक्षण सामग्री तयार गर्न, विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट सिकाउन तथा नयाँ ज्ञान–सीपसँग जोड्न थप सहज हुने थापाले बताए ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मिना आलेमगर एवं शिक्षक, अभिभावकहरुको उपस्तिथि रहेको थियो ।












