तनहुँ । बैशाख ३१
भगवान् पशुपतिनाथ र शिवगङ्गा वाग्मतीको पूजन गरि सम्पन्न गरिएको बृहत् पाशुपत पदयात्राको प्रसाद शुक्रबार दमौलीमा विरतण गरिने भएको छ । पदयात्राका संकल्पकर्ता एवं देवघाट स्थित महेश सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी डा.रमणानन्द गिरीको उपस्थितीमा व्यास नपा ५ स्थित परासर आश्रममा बृहत् पाशुपत पदयात्रा (चौसठ्ठी सिद्धलिङग पदयात्रा) को प्रसाद वितरण गरिने भएको हो ।



स्वामी रमणानन्द गिरीको संकल्पमा २०८२ साल चैत्र १६ गते प्रारम्भ भएको बृहत् पाशुपत पदयात्रा (चौसठ्ठी सिद्धलिङग पदयात्रा) वैशाख २८ गते सोमबार सम्पन्न भएको थियो । ६४ शिवलिङ्गको यस किसिमको पदयात्रा मल्ल राजा प्रताप मल्लको पालापछि अहिले भएको बताईएको छ । पदयात्राका क्रममा काठमाडौँ वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा गरिएको थियो ।

पाशुपत पदयात्राको शुभारम्भ आदिलिंग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो । कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत क्षेत्रमा रहेका सिद्धलिंगको दर्शनका लागि पनि पैदल यात्रा गरिएको थियो । उक्त बृहत् पाशुपत पदयात्रामा नेपाल, भारत र बर्माका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।












