विष्णु मगर । देवघाट, असार १
देवघाट गाउँपालिका–५ अन्तर्गतका विभिन्न महिला समूहका सदस्यहरुलाई सीपमूलक तालिम सञ्चालन गराउने आश्वासन दिँदै रकम असुलिएको आरोप सार्वजनिक भएको छ । पीडित महिलाहरूले आफूहरूबाट रकम उठाएर सम्पर्कविहीन भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।



कालिमाटी आमा समूहकी सदस्य इन्द्रमाया थापाका अनुसार गत जेठ २६ गते आयोजित कार्यक्रममा कालिमाटी आमा समूहलाई स्यानिटरी प्याड बनाउने तथा झारखानीस्थित कमलादेवी टोल विकास संस्थालाई चप्पल बनाउने तालिम सञ्चालन गर्ने भन्दै सहभागीहरूको नाम दर्ता गरिएको थियो । तालिमका लागि कर्मचारी आवश्यक पर्ने, कर्मचारीले अनिवार्य रूपमा ड्रेस लगाउनुपर्ने भनी महिलाहरुबाट रकम संकलन गरिएको उनले बताइन् ।
थापाका अनुसार सहभागी महिलाहरूलाई नारायणगढस्थित फेसन टेलरमा लगेर कपडाको नापसमेत लिइएको थियो । जेठ २९ गते ड्रेस वितरण गरिने र जेठ ३० गतेदेखि तालिम सुरु हुने जानकारी दिइएपनि त्यसपछि सम्बन्धित व्यक्तिसँग सम्पर्कविहिन भएको पीडितहरुले बताएका छन् ।
कमला देवी टोल विकास संस्थाकी कोपिला आलेका अनुसार चप्पल बनाउने तालिमको नाममा पनि महिलाहरूबाट रकम उठाइएको थियो । ‘जेठ २७ गते कपडाको नाप दिएर रकम बुझाएपछि सोही दिन बेलुकादेखि उक्त व्यक्तिको मोबाइल बन्द भयो’ उनले बताइन् ।
पीडितहरूका अनुसार आफूलाई राजन अधिकारी भनेर चिनाउने व्यक्तिले फरक–फरक व्यक्तिलाई फरक–फरक ठेगाना दिएको पाइएको छ । कतिपयलाई पुरानो घर लमजुङ भएको र हाल भरतपुर–१२ मा बसोबास रहेको बताएको तथा अन्यलाई हाकिमचोक क्षेत्रको ठेगाना दिएको उनीहरूको दाबी छ ।
रकम बुझाउने महिलाहरूमा विमला बोटे (रु ७,५००), इन्द्रमाया थापा (रु ६,०००), सरी थापा मगर (रु ५,०००), टेकमाया राना मगर (रु ६,०००), चन्द्राकला अधिकारी (रु ६,०००), कोपिला आले (रु ३,५००), मिना गुरुङ (रु ३,५००) र टकमाया थापा मगर (रु ६,०००) रहेका छन् । उनीहरुले सीप सिकेर आत्मनिर्भर बन्ने आशामा कार्यक्रममा सहभागी भएको भए पनि विश्वासको दुरुपयोग गर्दै आर्थिक ठगी गरिएको आरोप लगाएका छन् ।
पीडितहरुले उक्त घटनाको बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय देवघाटमा उजुरी दिएका छन् । निबेदनमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, साथै आफूहरूले बुझाएको रकम फिर्ता गराइदिन माग गरेका छन् ।
उजुरीमा महिलाहरूले भनेका छन् ‘महिलाको आत्मनिर्भरताको सपना बेचेर रकम असुल्नु सामान्य गल्ती होइन, यो सामाजिक विश्वासमाथिको गम्भीर प्रहार हो, यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउनु राज्य र सरोकारवाला निकायको दायित्व हो ।’












